नारी दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरिमा सहभागीहरु ।

हेटौंडाः ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरिको आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको अगुवाईमा बुधबार हेटौंडा उपमहानगरपालिकादेखि हेटौंडा बजारको बुद्वचोकसम्म प्रभातफेरि आयोजना गरिएको थियो ।

“लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नारासहित यस बर्षको नारी दिवस मनाइएको छ । लैंगिक समानता र महिला अधिकारको पक्षमा विभिन्न नारासहितका प्लेकार्ड र व्यानरसहित सरोकारवाला व्यक्तिहरु प्रभातफेरीमा सहभागी थिए । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी ऐन २०७५ पूर्ण कार्यान्वयन गरौं, एकल महिलालाई सम्मान गरौं र भावना बुझौं, छोरीलाई श्रम होइन विद्यालय पठाऔं भन्ने प्लेकार्डसहित प्रभातफेरिमा सहभागी थिए । नारी दिवसकै अवसरमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

प्रभातफेरिपछि बुद्धचोकमा भएको कोणसभालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले संविधानमा रहेका महिला अधिकारलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत चन्दा व्यञ्जनकार लगायतको उपस्थिति थियो ।