वन संरक्षण र विकासको अभियानमा सामुदायिक उपभोक्ता समूहको उल्लेखनीय कार्य भएको छ । वन क्षेत्रको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको योगदानको तुलना लाभको अवसर लिन नसकेको बताउँदै आएका छन् । वन क्षेत्रलाई बहुपक्षीयरुपमा लाभ लिन सकिने बताइँदै आए पनि यसतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन । वनको विकास र विस्तारसँगै मानव–वन्यजन्तुको द्वन्द्व पनि बढ्दो क्रममा छ । वन क्षेत्रको विकास र विस्तारको अभियानमा क्रियाशील हेटौंडा–१०, न्युरेनीस्थित भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सोमबहादुर लामासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः भुटनदेवी सामुदायिक वन उपभोक्ता समुहको अहिलेको नियमित गतिविधि कसरी चलिरहेको छ ?
लामाः अन्य सामुदायिक वन र हाम्रो भुटनदेवी सामुदायिक वनमा अलिकति भिन्न स्थितिमा छ । अन्य सामुदायिक वनमा जुन किसिमको बोट बिरुवा छ । हाम्रो चैं बगर क्षेत्र, बालुवा भएको र माटोको अवस्था त्यति राम्रो नभएकोले गर्दा हाम्रो स्थिति अलि फरक भएको हो । हाम्रोमा २०१२ सालमा खोलामा आएको महाभेलले बगाएर ल्याएको सिसौको बिरुवाहरुबाट उम्रेको सिसौको रुखहरु ६०/७० वटाको हाराहारीमा होलान् । त्यो सबै क्षेत्रमा अहिले रामफल जुन गैंडाले खाने भएको भएर राईनो फल पनि भनिन्छ, त्यो फलको बोट भएकोले अहिले हामीले सामुदायिक वनलाई अलि भिन्न किसिमले वृक्षरोपण गरेर रुखजन्य बिरुवाहरु उत्पादन गर्ने भन्ने सम्बन्धमा हामी लागी परेका छौं । नियमित कामहरुमा चै महिनामा एकपटक हामी बैठक बसेका छौं । हामीले डेढ सय वटा बाँसहरु रोपेका छौं । त्यही बाँस बेचेर आम्दानी भएको छ । साथै न्युनतम तलब दिएर एउटा वन हेरालु राखेका छौं ।
समाजः भुटनदेवी सामुदायिक वनको क्षेत्रफल कति छ र यसबाट लाभ हासिल गर्ने उपभोक्ताहरुको संख्या कति छ ?
लामाः पहिला यसको क्षेत्रफल ७० हेक्टर थियो । खोलाले बगाएर अहिलेको अवस्थामा २८.२५ हेक्टर रहेको छ । यसबाट प्रत्यक्ष लाभ भनेको चैं हामीले काठहरु सिसौंहरु जुन किसिमले काटेको थियो त्यो फर्निचरको रुपमा र घरायसी प्रयोगका लागि हामीले उपभोक्ताहरुलाई वितरण गर्यौं । हामी बजारको नजिक भएको हुनाले उपभोक्ताहरु त्यति जागरुक भएर आएको अवस्था छैन ।
समाजः धेरैजसो त्यो सामुदायिक वनमा चित्तलहरु देख्ने गरेको सुन्नमा आउँछ, चित्तल बाहेक हामी त्यो क्षेत्रमा अन्य कुन कुन वन्यजन्तु देख्न सक्छौ ?
लामाः चित्तल बाहेक न्याउरी मुसाहरु छन् । बादरहरु प्रसस्तै मात्रामा छन् । त्यस्तै वन कुखुराहरु छन् । अब चराहरुमा गिद्धहरु बेलाबेलामा देख्ने गरिन्छ । हामीले संरक्षणको रुपमा चै चित्तललाई लिएका छौं । तर त्यसको पनि अहिले अत्यधिक मात्रामा शिकार बढेको छ ।
समाजः सामुदायिक वन भित्र कि वन विज्ञान क्षेत्र भित्र सिकारीहरु आउने गरेका छन् ?
लामाः हाम्रै सामुदायिक वन भित्र सिकारीहरु आउने गरेका छन् । राती भएपछि १५/१६ वटा चित्तलहरु सामुदायिक वनमा चर्न आउँछन् । पहिला बगर पट्टीबाट बाटो खोलेको थिएन । त्यसैले गाउँबाट जाँदा गाडीको आवाज सुनिन्थ्यो । अहिले बगर पट्टीको बाटोबाट सिकार गर्न जान्छन् त्यसैले गाडिको आवाज सुनिँदैन । पड्केको आवाज मात्र आउँछ ।
समाजः अहिले तपाईहरुले भुटनदेवी सामुदायिक वनमा कस्तो खालका बोट विरुवाहरु रोप्नुभइरहेको छ ?
लामाः अहिले हामीले हर्रो–बर्राे, सिमल लगायतका बोटविरुवा रोपेका छौँ । गत भदौको अन्तिमतिर साबुन फ्याक्ट्रीसँग समन्वय गरी रोपेका धेरैजसो विरुवाहरु मरेका छन् । त्यसका सट्टामा हामी पुनः रोपण गर्नेछौँ । पुनःरोपण गर्दाखेरि चाहिँ रुखजन्य प्रजातिका बोटहरु जस्तैः खयर, टिक, कदम, हर्राे–बर्राे लगायतका विरुवाहरु रोप्नुपर्ने आवश्यक देखेका छौँ ।
समाजः गएको भदौमा रोपेका बिरुवाहरु मर्नुको कारण के हो ? तपाईहरुले त्यहाँका भुगोल र माटोको अनुसार त्यहाँ कस्ता बोटबिरुवा उपयुक्त हुन्छ भनी जाँच नगरी रोपेर हो कि या अरु नै कारणले ?
लामाः गएको भदौमा हामीले त्यहाँ रोपेका विरुवाहरु त्यहाँको भुगोल, माटो र अवस्थाको परीक्षण गरेर नै रोपेका थियौं । त्यस्ता खालका बोटबिरुवाका लागि त्यहाँका माटो र हावापानीको अवस्था एकदम उपयुक्त पनि छ । तर हामीले नै वर्षाको अन्तिम समयमा रोपेको कारणले गर्दा बोटबिरुवा मरेको थियो ।
समाजः वन क्षेत्रको संरक्षण र प्रवर्धनमा उपभोक्ता समितिको क्रियाकलाप के के हुन्छन् ?
लामाः हामीले दिनानुदिन वनको हेरचाह गर्नका लागि हामीले न्युनतम पारिश्रमिक दिएर एकजना हेरालु राखेका छौँ । वृक्षरोपण भएको क्षेत्रको हेरचाह, गोडमेल, र संरक्षणका लागि पनि हामीले एकजना राखेका छौं । हाम्रो समुहको काम भनेको उपभोक्ताहरुलाई आवश्यक परेको बखत्मा वन संरक्षणका लागि उपस्थित हुन उत्प्रेरित गर्ने, उपभोक्तालाई आवश्यक पर्दा निःशुल्क दाउरा वितरण गर्ने जस्ता क्रियाकलापहरु गर्दै आएका छौं ।
समाजः भुटनदेवी सामुदायिक वन क्षेत्रबाट आयआर्जनका के क्रियकलाप गर्न सकिन्छ होला ?
लामाः भुटनदेवी सामुदायिक वन क्षेत्र र सँगैको वन विज्ञान क्याम्पसको क्षेत्रमा सयौंको संख्यामा चित्तल छन् । ती चित्तलको संरक्षणसँगै त्यसलाई अवलोकन गर्न सकिने व्यवस्था मिलाउन सके पर्यटन प्रवद्र्धन र त्यसबाट आयआर्जनको कार्य गर्न सकिने सम्भावना रहेको देख्छु । यो विषयमा नगरपालिकासँग पनि कुरा गरेका छौं । वडामा हाम्रै वन समूहका पूर्वअध्यक्ष फूर्वा दोर्जे लामा अध्यक्ष हुनुहुन्छ । हामी यो कामबाट वन समूहको आयआर्जनको कुरा मात्रै नभई हेटौंडा उपमहानगरपालिकाकै आकर्षणको विषय पनि हुनेछ । नगरको पर्यटन प्रवद्र्धनमा पनि यसले सहयोग पुग्ने आशा गर्न सकिन्छ ।