वडातहमा रहेका जनप्रतिनिधिहरु आपसी समझदारी, समन्वय र सहकार्यमा दैनिक कामहरु सञ्चालन गरिरहेका छन् । वडामा महिला जनप्रतिनिधिहरु पनि समाजमा आफ्नो भूमिका निर्वाह गर्न क्रियाशील छन् । जनप्रतिनिधिको रुपमा काम गर्दाको अनुभव, आफ्नो भूमिका र आगामी दिनको योजनाको विषयमा हेटौंडा १ की वडा सदस्य मनु दाहाल र जिल्ला समन्वय समितिकी सदस्य तारा ढुंगानासँग समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः समन्वय समितिमा तपाईंले गर्ने काम, तपाईंको भूमिका कस्तो रहँदै आएको छ ?
ताराः म दुई नम्बर वडामा महिला सदस्यमा निर्वाचित भइरहँदा जिल्ला समन्वय समितिमा जान्छु भन्ने मेरो अपेक्षा थिएन । २ नम्बर वडाको सदस्य भएपछि जिल्ला समन्वय समितिको सदस्यको रुपमा भूमिका पाएँ । मैले गर्ने काम कर्तव्य भनेको पालिकास्तरमा अनुगमन, मूल्यांकन नै हुँदोरहेछ । जिल्ला समन्वय समितिमा हामी सदस्यको त्यति ठूलो भूमिका नहुँदोरहेछ । त्यसो भनिरहँदा चुप लागेर बसिरहेका छैनौं । हाम्रो भूमिका खोजी गरिरहेका छौं ।
समाजः वडामा तपाईंको उपस्थिति कस्तो छ ? वडाको कामलाई कसरी हेरिरहनु भएको छ ?
ताराः जिल्ला समन्वय समितिको सदस्य भइरहँदा र वडाको सदस्य भएको मेरो हैसियतले वडाको जनप्रतिनिधिहरुसँग मेरो समन्वय रहिरहन्छ । अध्यक्षज्युले पनि मेरो कामलाई सकारात्मकरुपले हेरिरहनु भएको छ । महिलाहरुको कार्यक्रम, समस्या, योजनाका कुराहरु लिएर टोलबासीले मलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा गुनासो राख्नुहुन्छ । यी कुराहरुले गर्दा म जनप्रतिनिधिसँग समन्वयमा रहिरहन्छु ।
समाजः तपाईंको हिजोको पृष्ठभूमिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
ताराः राजनीतिभन्दा पनि मेरो क्षेत्र भनेको सामाजिक हो । सामाजिक काम गरिरहँदा कुनै न कुनै पार्टीमा आबद्ध भई राजनीतितर्फ पनि हामी जाँदा रहेछौं । विषेश म राजनीतिमा रहिरहनुभन्दा सामाजिक क्षेत्रमा आनन्दित हुन्छु । समय परिस्थितिले आज मलाई यहाँ लिएर आउँछ भन्ने थाहा थिएन । मेरो मुख्य उद्देश्य भनेकै जनताको माझमा रहेर सामाजिक काम गर्ने थियो । र, म राजनीतिभन्दा सामाजिक काममा अलि बढि अग्रसर छु कि भन्ने मलाई लाग्छ ।
समाजः निर्वाचित भएपछिको सात महिनाको बीचमा सामुदायमा राम्रो गरेँ भनेर व्यक्त गर्न सक्ने खालको कुनै काम भएको छ ?
ताराः मैले हिजोको दिनमा सामाजिक काम गर्दै आउँदा पछाडि परेका दिदीबहिनीहरुको लागि समुदायमा केहि भूमिका निभाउन सकेको हो कि जस्तो मलाई लाग्छ । किनकि जब जनप्रतिनिधि भएर म दुई नम्बर वडामा आएँ, त्यतिखेर बजेटहरु छुट्याउने शिलशिलामा महिलाहरुको लागि भनेर महिला बचत तथा ऋण सहकारी संस्थालाई पनि केहि बजेट छुट्याएर दिदीबहिनीहरुलाई उद्यमी बनाउनका लागि बजेट छुट्याइदिएर सामानहरु पनि खरिद गर्नसमेत वडा अध्यक्षसँग समन्वय गरियो । महिला दिदीबहिनीहरुले तोफो उत्पादन गरिरहनु भएको छ । त्यो काम सफल भएको छ ।
समाजः वडा सदस्यको रुपमा काम गरिरहँदा कस्तो अनुभव भइरहेको छ ?
मनुः हामी त एकदम सामाजिक मान्छे हो । सामाजिक काम गर्दा र जनप्रतिनिधि हुँदा अलिकति मैले केहि फरक अनुभव गरेकी छु ।
समाजः वडा सदस्यको रुपमा काम गर्दा कत्तिको सहज अथवा अप्ठेरो महसुस भएको छ ?
मनुः काम गर्न त सहज नै भएको छ । हामी पाँचैं जना आपसी सहमति वा समन्वयमा नै काम गर्ने, कार्यक्रममा वा जनतामाझ जाने गरेका छौं । अध्यक्षसँगको सहकार्यमा काम गरिरहेका छौं ।
समाजः व्यवसायमा पनि आबद्ध हुनुहुन्छ । जनप्रतिनिधिको रुपमा विजयी गराउन व्यवसायले कसरी सहयोग गर्यो ?
मनुः हाम्रो व्यवसाय नै समाजसँग सम्बन्धित छ । हामी तरकारी व्यवसाय गर्छौं । मेरो श्रीमान पनि तरकारी व्यवसाय गर्नुहुन्छ । जसले हामी प्रत्यक्षरुपमा समुदायसँग जोडिएका छौं । सदस्यमा उम्मेदवारीका लागि मलाई वडा कमिटीबाट नै सिफारिस गर्यो । यसमा श्रीमानको पनि पूर्णरुपमा सहयोग पाएँ । सामाजिक काम गर्न रुचि राख्ने भएकाले सबैको आग्रहलाई मैले सहजै स्वीकार गरेँ ।
समाजः तपाईंहरुले कामको जिम्मेवारी कसरी बाँडफाँड गर्नु भएको छ ?
मनुः कुनै काम गर्नु परे हामी पाँचै जना भएर बैठक गर्छाैं । समुदायमा गएर गर्नुपर्ने हरेक काम जस्तै, घरायसी मुद्दा मामिला, बालबालिकासम्बन्धी समस्यालगायत अनेक समस्याहरु आउँदा रहेछन् । योजनाका लागि बजेट छुट्याउने यस्ता सबै खाले कामहरु हामी पाँँचै जना छलफल गरेर गर्छाैं । योसँगै २०८० सालसम्ममा बालमैत्री वडा घोषणा कार्यक्रम नगरपालिकाले ल्याएको छ । जसमा हाम्रो वडाको लागि सम्पर्क व्यक्तिको रुपमा मलाई तोकिदिएको छ । बालबालिकाको क्षेत्रमा काम गरिरहँदा अहिलेसम्म १३ वटा बाल समूह हामीले गठन गरिसकेका छौं । दुई वटा टोल विकास संस्था पनि गठन गरिसकेका छौं । जे होस्, समग्रमा हामी पाँचै जनाको सल्लाहबमोजिम नै वडामा काम हुन्छ ।
समाजः वडामा ध्यान दिनुपर्ने र जटिल समस्याको रुपमा के देख्नुहुन्छ ?
मनुः पहिलो कुरा बालविवाह हो । अहिले साना–साना नानीहरु मन पर्यो भनेर हिँडिदिने अनि २० वर्ष नपुग्दै बच्चा जन्माएर सम्बन्धविच्छेद पनि भइसकेको हुने अवस्था छ । यो समस्या शहरी क्षेत्रमा उन्मातको रुपमा देखिन्छ भने ग्रामीण क्षेत्रमा बाध्यता । हाम्रो वडामा अहिले हेर्दाचाहिँ मुख्य समस्या भनेको यही बालविवाह र पानीको पनि समस्या उस्तै छ ।
समाजः बालविवाह मुख्य समस्याको रुपमा रहिरहेको सन्दर्भमा समाधानका लागि के गर्न सकिन्छ ?
मनुः हामीले वडामार्फत् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छौं । प्रत्येक घरमा गएर गएर सचेत गराउनु आवश्यक छ । एउटा घरमा आमाको भूमिका धेरै हुन्छ । आमालाई नै सचेत गराउन सकेमा धेरै समस्या समाधान हुन्छजस्तो लाग्छ ।
समाजः वडामा ध्यान दिनुपर्ने विषयहरु के–के छन् ?
ताराः म वडामा नै रहेको भए विशेष त महिला, बालबालिका, अपांगता र जेष्ठ नागरिकको बीचमा रहेर काम गर्थें । उहाँहरुको समस्या के–के छन् अध्ययन गरेर उनीहरुको समस्या समाधानमा काम गर्थें । भौतिक पूर्वाधार अति आवश्यक हो तर, सामाजिक पाटो पनि उत्तिकै महत्वपूर्ण छ ।