हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले शहीद दिवसको अवसरमा ६ जनालाई सम्मान गरेको छ । सोमबार गाउँपालिकाले ४ जना शहीद र २ जना वेपत्ता परिवारलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिनले जानकारी दिनुभयो ।
कार्यक्रममा शहीदतर्फ रुद्रबहादुर पाख्रिनकी श्रीमती राममाया पाख्रिन, कुष्णप्रसाद घिमिरेका बुवा बासुदेव घिमिरे, कुवेर ढुङ्गानाका श्रीमती गौरी ढुङ्गाना र सूर्यबहादुर लोका श्रीमती निरमाया लो सम्मानित हुनुभएको हो । त्यस्तै वेपत्ता परिवारतर्फ सन्तबहादुर वाईबाका श्रीमती छुल्टिम डोल्मो वाईबा र डोसिक भ्लोनकी श्रीमती तीर्थकुमारी भ्लोन सम्मानित हुनुभएको हो । कार्यक्रममा ५ जनाले शहीदसम्बन्धी रचना वाचनसमेत गरेका थिए ।
कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे स्याङ्तानको विशेष आतिथ्य तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य भएको थियो । कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै प्रमुख अतिथि पुलामीले शहीदहरुको योगदान अविस्मरणीय रहेको र हामी सबै नेपाली शहीदहरुको सपना पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।