नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागरप्रसाद खतिवडा र जनप्रिय माविका अंगे्रजी तथा सामाजिक विषय शिक्षक रविन श्रेष्ठ ।

नगरस्तरीय शैक्षिक समन्वय समितिले हेटौंडा उपमहानगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गतिविधिमा एकरुपता कायम गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नगरको शैक्षिक संस्थाहरुको गतिविधि, उपलब्धी, सुधारका पक्षहरु र परीक्षाका विषयमा नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागरप्रसाद खतिवडा र जनप्रिय माविका अंग्रेजी तथा सामाजिक विषय शिक्षक रविन श्रेष्ठसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नगरस्तरीय शैक्षिक समन्वय समितिले केहि दिनअगाडि नगरका सामुदायिक विद्यालयहरुमा लिएको अर्धवार्षिक परीक्षा कस्तो रह्यो ?

खतिवडाः वि.सं. २०५३ सालदेखि नगरस्तरीय शैक्षिक समन्वय समितिले हेटौंडा नगर क्षेत्रभित्रको शैक्षिक गतिविधिलाई एकरुपता कायम गर्नका लागि विभिन्न किसिमका क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । विगतका दिनहरुमा विभिन्न अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गर्दै आएकोमा कोभिड–१९ पछि भने निरन्तरता दिन सकेको थिएन । तर, पछिल्लो समयमा भने हामीले फेरि त्यसलाई निरन्तरता दिने प्रयास गर्दैछौं । हामीले गत पुस २८ गते अर्धवार्षिक परीक्षा सम्पन्न गरेर नतिजा प्रकाशनको तयारीमा छौं । माघ १५ गतेभित्र नतिजा प्रकाशन गर्ने तयारीमा छौं । नगरस्तरीय शैक्षिक समन्वय समितिमार्फत् परीक्षालाई मात्र नभई परीक्षण र नतिजालाई पनि एकरुपता दिन लागिपरेका छौं । ७ हजार १ सय ५५ जना विद्यार्थीहरु अर्धवार्षिक परीक्षामा सहभागी भएका थिए । नगरका सबै विद्यालय समावेश भएका छैनन् । जम्मा ३६ वटा विद्यालयमात्र समावेश भएका थिए । हामी अहिले माघ २६ गतेदेखि कक्षा १० को एसईई पूर्वतयारी परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछौं ।

समाजः पछिल्लो समयमा नगरस्तरीय शैक्षिक समन्वय समिति शिक्षामा भन्दा बढी परीक्षामा केन्द्रित हुनुको कारण के हो ?

खतिवडाः परीक्षा पनि शैक्षिक गतिविधिमा नै पर्छ । योभन्दा पहिला नगरस्तरीय शैक्षिक समन्वय समितिले आफ्नै मातहतमा शैक्षिक गतिविधिहरुअन्तर्गत् आन्तरिक र अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेको थियो । त्यतिबेला हामीले नगरपालिकासँग आर्थिक सहयोग मागेर नगरस्तरीय शैक्षिक समन्वय समितिको मातहतभित्रै सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गथ्र्यौं । तर, पछिल्लो समयमा शैक्षिक क्रियाकलापहरु नगरपालिकाको शिक्षा महाशाखाले नै गर्ने गरेको छ । शिक्षा महाशाखाले हामीसँग समन्वय नगरेको र नगरपालिकाले नगरस्तरीय शैक्षिक समन्वय समितिको लागि बजेट नछुट्याएकोले आर्थिक अभावका कारण हामीले यस्ता क्रियाकलापहरुमा ध्यान दिन सकिरहेका छैनौं । समितिअन्तर्गत् सञ्चालन हुनेगरी कुनै पनि कार्यक्रम र बजेट छुट्टिएको छैन । आम्दानीको कुनै स्रोत नहुँदा पनि नितान्त परीक्षालाई मात्र समेटेको हो ।

समाजः जनप्रिय माविमा नगरस्तरीय शैक्षिक समन्वय समितिको सहकार्य कस्तो छ ?

श्रेष्ठः शैक्षिक समन्वय समितिले जनप्रिय माविलाई प्रश्नपत्र उपलब्ध गराएपछि उक्त प्रश्नपत्र बमोजिम नै हामीले परीक्षा सञ्चालन गरेका थियौं । अहिले हामी उत्तरपुस्तिका परीक्षणको चरणमा छौं र हामी छिट्टै नतिजा प्रकाशन गर्ने गरी तयारी गर्दैछौं ।

समाजः विद्यार्थी भर्नादेखि प्रथम त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षासम्म आउँदा विद्यार्थी उपस्थिति संख्या कस्तो रह्यो ? विद्यार्थीको उत्तर लेखनशैलीमा कत्तिको सुधार आएको छ ?

श्रेष्ठः विद्यार्थी भर्ना संख्याको तुलनामा पहिलो त्रैमासिक परीक्षामा विद्यार्थी उपस्थिति संख्या न्यून रहेको थियो भने अर्धवार्षिक परीक्षामा चाहिँ पहिलो त्रैमासिक परीक्षामा भन्दा धेरै संख्यामा विद्यार्थीको उपस्थिति रह्यो । पछिल्लो समयमा परीक्षामा उपस्थित विद्यार्थीको संख्या बढ्दो क्रममा भएकाले हामीले यसलाई सकारात्मकरुपमा लिएका छौं । हामी अहिले अर्धवार्षिक परीक्षाको कपी परीक्षणको क्रममा छौं । अहिलेसम्मको परीक्षणलाई हेर्दा पहिलो परीक्षाको तुलनामा दोस्रो परीक्षामा उत्तर लेख्ने शैलीमा धेरैै सुधार आएको छ ।

समाजः नगरभित्रका ३६ वटा सामुदायिक विद्यालयको परीक्षामा एकरुपता ल्याउनका लागि नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रश्नपत्र बनाएर पठाएपछि नतिजाको विश्लेषण कसरी गर्नुहुन्छ ?

श्रेष्ठः धेरैै अगाडिदेखि नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रश्नपत्र बनाएर पठाउने, परीक्षाको अनुगमन गर्ने र केन्द्रीकृतरुपमा नतिजा प्रकाशन गर्दै आएको थियो । तर कोभिड–१९ माहामारीपछि भने आर्थिक अभावलगायत विभिन्न समस्याका कारण प्रश्नपत्रमात्र बनाउने गरेको छ र हामीले केन्द्रिकृतरुपमा नतिजा प्रकाश र विश्लेषण गर्न सकेका छैनौं ।

समाजः नगरपालिकाले के गरिदियो भने नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रभावकारीरुपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सक्छ ?

खतिवडाः समग्र देशको विकास उक्त देशको शैक्षिक अवस्थामा निर्भर गर्दछ । त्यसैगरी नगरको विकास हुनको लागि नगरको शैक्षिक विकास पनि हुनुपर्दछ । त्यसका लागि नगरपालिकाले शैक्षिक समन्वय समितिका लागि आवश्यक कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुपर्छ । अनुगमनकर्ताको व्यवस्था, परीक्षामा एकरुपता ल्याउनका लागि शैक्षिक समन्वय समितिसँग समन्वय गर्नुपर्दछ । नगरपालिकाले यस्तो व्यवस्था गरेमा नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रभावकारीरुपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ।

समाजः समग्र परीक्षा प्रणालीमा सुधार गर्न के–के गर्नुपर्ने देख्नुभएको छ ?

श्रेष्ठः सबैभन्दा पहिला मैले ग्रुपवर्र्कको आवश्यक देखेको छु । नगरपालिकाको शिक्षा महाशाखा, शैक्षिक समन्वय समिति र विद्यालयहरुबीच समन्वय गरी सहकार्य गर्दै विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरेमा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुको परीक्षा प्रणालीलगायत शैक्षिक अवस्थामा पनि सुधार हुने देखिन्छ । र सम्पूर्ण विद्यालयको परीक्षा र नतिजामा समेत एकरुपता आउँछ ।