हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका अधिकांश विद्यालयहरुले सरस्वती पूजाका दिन बिहीबार अक्षरारम्भ कार्यक्रम गरेका छन् । नवआगन्तुक बालबालिकाहरुलाई अक्षर चिनाएर अक्षरारम्भ कार्यक्रम गराइएको हो ।
हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा २५ जना नवआगन्तुक बालबालिकाले अक्षरारम्भ गरेको विद्यालयका शिक्षक मुकेश मिश्रले जानकारी दिनुभयो । हेटौंडा–४ कै श्रमिक माध्यमिक विद्यालयमा पनि बालबालिकालाई अक्षरारम्भ गराइएको छ । हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले अक्षरारम्भ कार्यक्रम शुभारम्भ गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा–५, पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल बोर्डिङ स्कूलमा करिब ३० जना नवआगन्तुक बालबालिकाले अक्षरारम्भ गरेका छन् । हेटौंडा–६, गौरीटारमा रहेको बालजागृति युवावर्ष माध्यमिक विद्यालयमा पनि करिब ८ जना बालबालिकाले अक्षरारम्भ गरेको विद्यालयका प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभयो । सोही अवसरमा पूर्व विद्यार्थीहरुलाई समेत भेला गरिएको उहाँले बताउनुभयो ।
विद्यालयको सुधारमा सहयोग पुर्याउने उद्देश्यले भेला गरिएको उहाँको भनाई छ । हेटौंडा–६ का वडाध्यक्ष बिष्णु दाहाल, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति थियो । अमर माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलगायत केही विद्यालयहरुले भने भर्ना अभियानकै बेला आगामी बैशाख महिनामा अक्षरारम्भ कार्यक्रम गरिने जनाएका छन् ।