सरस्वति भगवानको पूजा गर्दै पशुपतिनाथ माविका विद्यार्थी ।

हेटौंडाः मनहरी गाउँपालिकाको हाँडीखोलास्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाई अनुशासित विद्यार्थीको रुपमा सम्मानित गरिएको छ । सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानित गरिएको हो ।

कक्षा ९ की छात्रा सुष्मा कार्की र कक्षा ८ का छात्र सन्दीप प्रजालाई विद्यालयको अनुशासित विद्यार्थीको रुपमा सम्मानित गरिएको हो । मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य मीरा खत्री, मनहरी–४ का पूर्ववडाध्यक्ष ध्रुब खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले विद्यार्थीलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । हरेक श्रीपञ्चमीका दिन विद्यालयले यस्तै सम्मान गर्दै आएको छ ।

विद्यालयका पूर्वशिक्षक चेतप्रसाद पौडेलले आफ्नो माता जसोदादेवी पौडेल र पिता लालप्रसाद पौडेलको स्मृतिमा स्थापना गरेको अनुशासित विद्यार्थी सम्मान प्रदान गरिएको हो । शिक्षक पौडेलले सेवाननिवृत्त जीवनमा आफूले अध्यापन गरेको विद्यालयलाई सहयोग गर्ने क्रममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

५० हजार रुपैयाँको अक्षयकोषबाट प्राप्त वार्षिक ब्याज आम्दानीबाट दुई जना छात्रछात्रालाई नगद तथा प्रशंशापत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिनुभयो । विद्यालयले विगत ६ वर्षदेखि बसन्त पञ्चमीको अवसरमा विद्यार्थी सम्मान गर्न थालेको हो ।