गाउँसभामा स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिँदै ।

हेटौंडाः चालु आर्थिक वर्षको ६ महिनामा राक्सिराङ गाउँपालिकाले करिब ६० प्रतिशत योजना सम्झौता गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने २०५ वटा योजनामध्ये १ सय १४ वटा योजना सम्झौता गरेको छ भने ४ वटा योजनाहरु सम्पन्न गरेको उल्लेख गरेको छ ।

गाउँसभाको १३ औं अधिवेशनको पहिलो गाउँसभामा अर्धवार्षिक प्रगति समीक्षा गर्दै गाउँपालिकाले ९१ वटा योजनामा मात्रै सम्झौता हुन बाँकी रहेको जनाएको हो । सम्झौता हुन बाँकी रहेका योजनाहरु पनि प्रक्रियामा रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा गाउँसभाद्वारा स्वीकृत आयोजना तथा कार्यक्रम कार्यान्वयनमा लामो समयसम्म मनसुन कायमै रहनु, भौगोलिक विकटता रहनु, कर्मचारीहरु सरुवा भई सेवा प्रवाहमा समस्या हुनु, लोकसेवा आयोगबाट सिफारिस भई आएका नयाँ जनशक्तिहरुलाई दक्ष एवम् सीपयुक्त बनाउन नसकिनु प्रमुख समस्याको रुपमा रहेको उहाँको भनाइ छ ।

राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ६६ करोड ४४ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । कूल बजेटमा चालुतर्फ ४० करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ २६ करोड १४ लाख रुपैयाँ रहेको छ । गाउँपालिकाले चालुतर्फ ८ करोड ८१ लाख रुपैयाँ र पुँजीगततर्फ ६० लाख रुपैयाँ गरी हालसम्म ९ करोड ४१ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । गाउँपालिकाले ६ महिनामा कूल बजेटको १४ दशमलब १६ प्रतिशत खर्च गरेको प्रतिवेदनमा देखिन्छ । यस्तै, गाउँपालिकाले आर्थिक विकासमा ४ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेकोमा ६ महिनामा ११ लाख २८ हजार रुपैयाँ (२.३१ प्रतिशत) मात्र खर्च गरेको देखिन्छ ।

त्यसैगरी, गाउँपालिकाले सामाजिक विकासतर्फ २४ करोड ४० लाख रुपैयाँ विनियोजन गरेकोमा ६ करोड ३४ लाख रुपैयाँ (२६.१ प्रतिशत) खर्च गरेको छ । पूर्वाधार विकासतर्फ २२ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेकोमा ६४ लाख १३ हजार रुपैयाँ (२.८५ प्रतिशत) खर्च गरेको छ । गाउँपालिकाले आन्तरिक आयतर्फ ६ महिनामा १५ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । नदीजन्य पदार्थबाट ५ करोड आम्दानी गर्ने अनुमान गरेकोमा हालसम्म ८१ लाख ४ हजार रुपैयाँमात्रै राजश्व संकलन भई ठेक्का आह्वान गरेर प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।

१३ औं गाउँसभामा अर्धवार्षिक समीक्षा अनुमोदनसहित ७ वटा प्रस्तावमाथि छलफल भई सर्वसम्मत पारित गरिएको थियो । कार्यपालिका सदस्य तथा १ नम्बर वडाध्यक्ष बाबिराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्नेसम्बन्धी प्रस्तावका साथ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरेको थियो । यस्तै, स्थानीय तह संस्थागत स्वमूल्यांकन नतिजामाथि छलफल गर्ने प्रस्तावमाथि पनि आवश्यक छलफल भई पारित गरिएको थियो । गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले प्रस्तुत गर्नुभएको वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि गाउँसभाले पारित गरेको छ ।

आकस्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए गरेका निर्णय कार्यहरु अनुमोदनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ । साथै, आर्थिक वर्ष २०७७/०७८ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मत स्वीकृत भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष बनस्तम थिङ, सभाका सदस्यसचिव तथा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यको सहभागिता थियो ।