हेटौंडाः हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनको १६ औं अभिभावक दिवस सुरु भएको छ। आज शुक्रबार र भोलि शनिबार दुई दिन अभिभावक दिवसको कार्यक्रम रहेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल सुदीप राज गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाको प्रमुख आतिथ्यमा अभिभावक दिवसको उद्घाटन कार्यक्रम भएको हो। अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन तथा नाट्य कला प्रस्तुत गर्नेछन्। अभिभावकको उपस्थितिमा सबै विद्यार्थीले आफ्नो कला प्रस्तुत गर्ने अवसर रहोस् भनेर दुई दिवसीय कार्यक्रम तय गरिएको प्रिन्सिपल गिरीको भनाइ छ।
अभिभावक दिवसको पहिलो दिन आज शुक्रबार बाल साहित्यको विषयमा बालसाहित्य लेखिका आन्विका गिरीसँग विद्यार्थीले अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ। अभिभावक दिवसको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा सदस्य एवम् विद्यालयको शिक्षक अभिभावक संघका संयोजक कृष्ण प्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो।