भुटनिज युथ स्पोर्ट्स क्लबको टिम । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगितामा भुटनिज युथ स्पोट्स क्लब फाइनल प्रवेश गरेको छ । शनिबार बागमती–८, फापरबारीस्थित जनता माध्यमिक विद्यालयको चौरमा भएको पहिलो सेमिफाइनल खेलमा भुटनिज युथ स्पोर्ट्स क्लबले १–० गोलअन्तरले जावलाखेल युथ क्लबलाई हराएको हो ।

भुटनिज युथ स्पोर्ट्स क्लबको जितका लागि प्रविन बस्नेतले ३४ औं मिनेटमा उत्कृष्ट गोल गरे । म्यान अफ द म्याच भुटनिजका प्रबिन बस्नेत नै घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । अब भुटनिजले आइतबार सेमिफाइनल विजेता टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आइतबार दोस्रो सेमिफाइनलमा संकटा क्लब र मकवानपुर–११ भिड्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।