हेटौैंडाः जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिएस निकेतनले जितेको छ । शनिबार भएको फाइनल खेलमा बकैया गाउँपालिकाको महेन्द्र माविलाई ३–० सेटले पराजित गर्दै हेटौंडा–५ स्थित जिएस निकेतनले उपाधि हात पारेको हो ।
जीएसले २५–१३, २६–२४, र २५–२० को सेटले महेन्द्रलाई पराजित गरेको हो । जितसँगै जीएसले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको महेन्द्र माविले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी जीएसका अमृत मिश्र घोषित हुनुभयो । उहाँले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगिताको उत्कृष्ट सेटर जीएसका बिनोद श्रेष्ठ घोषित हुनुभयो भने उत्कृष्ट स्पाइकर महेन्द्र माविका विवेक बोलखे घोषित हुनुभयो । श्रेष्ठ र बोलखेले नगद २/२ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । प्रतियोगितामा जिल्लाका सरकारी र निजी गरी २६ वटा विद्यालयको सहभागिता रहेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको प्रायोजनमा हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा प्रतियोगिता भएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको संयोजकत्वमा प्रतियोगिता भएको हो ।