हेटौंडाः हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेश्नल एकेडेमीले ३० औं स्थापना दिवस मनाएको छ । “समय सापेक्ष शिक्षा, सोलिड्यारिटीको प्रतिबद्वता” भन्ने मूल नारासहित बुधबार विद्यालयले स्थापना दिवस मनाएको हो । विद्यालय स्थापना दिवसको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । स्थापना दिवसका दिन प्लेग्रुप र नर्सरीमा निशूल्क भर्ना अभियान सञ्चालन गरिएको थियो । विद्यालयकी प्रिन्सीपल रिना आचार्यका अनुसार भर्ना अभियानको पहिलो दिन २४ जना विद्यार्थी भर्ना भएका छन् । उहाँले सकारात्मक शिक्षा नै विद्यालयको अवसर भएको बताउनुभयो । समय सापेक्ष प्राविधिमैत्री शिक्षालाई अझ जोड दिन विद्यालयलाई चुनौति रहेको उहाँको भनाइ छ ।

यस्तै शैक्षिक सत्र २०७८ मा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । १ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको छ । विद्यालयमा १ हजार ५ सय जना विद्यार्थी अध्ययनरत् छन् । कार्यक्रममा प्याव्सन मकवानपुरका पूर्वअध्यक्ष एवम् विद्यालयका कानुनी सल्लाहकार मदन दाहालको विशिष्ट आतिथ्य रहेको थियो ।