नेपाल बहुभाषी, बहुजातीय र बहुधार्मिक देश हो । नेपालमा विभिन्न जातजाति, भाषा र धर्मका मानिसहरुको बसोबास छ । नेपालमा हिन्दू धर्मको बाहुल्य रहेको भए पनि मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको छ । शताब्दीऔंदेखि धार्मिक सहिष्णुता कायम रहँदै आएको नेपालमा धर्मनिरपेक्ष भएपछि धार्मिक स्वतन्त्रता र समानता ग्यारेन्टी भएको छ । त्यसैले पनि हामी नेपाली सबै जातजाति तथा धर्मावलम्बीहरुबीच एक–आपसमा मिलीजुली बसिरहेका छौं । हामी नेपालीहरु सबै धर्मसँग सम्बन्धित चाडपर्वमा उत्तिकै रमाउने गरेका छौं । हिन्दू, बौद्ध, इस्लाम र इसाइ (क्रिश्चियन) धर्मका विभिन्न चाडपर्वलाई सम्बन्धित धर्मका मात्र नभई सबैजसो नेपालीहरुले आफ्नै चाडपर्वजस्तो ठान्ने गरेका छौं । सबै धर्मका चाडपर्वलाई हामीले सम्मान गर्ने गरेका छौं ।

आज २५ डिसेम्बर, क्रिसमस पर्व हो । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका दिन विश्वभर क्रिसमस मनाउने गरिन्छ । क्रिश्चियन धर्मावलम्बीहरुले धुमधामसँग मनाइने क्रिसमसलाई पछिल्लो समय अन्य धर्मका नेपालीहरुले पनि मनाउने क्रम बढ्दै गएको छ । नेपालमा देशभर चर्चमा विशेष कार्यक्रमहरु आयोजना गरी क्रिसमस पर्व अर्थात् क्रिसमस डे आज मनाइँदैछ । क्रिसमस डेका अवसरमा नेपालमा सरकारले सार्वजनिक विदा दिने गरेको छ । इसाइ धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाडका रुपमा क्रिसमस डे मनाउने गरिन्छ । सम्भवतः संसारभरि धेरै देशहरुमा एकैदिन आजको दिनमा मात्रै सार्वजनिक विदा हुनेगर्दछ । इसाई समुदायका मानिसमात्र नभई प्रत्यक्ष परोक्षरुपमा धेरैले क्रिसमस मनाउँदछन् । क्रिसमस डेका दिनदेखि लगातार १२ दिनसम्म क्रिसमस टाइमका रुपमा विशेष उत्सव गरिन्छ । येशुको जन्मोत्सवको अवसरमा चर्चहरुमा भेला भएर विश्वभरिका क्रिश्चियन धर्मावलम्बीले मुख्य चाडका रुपमा क्रिसमस डे मनाउँदछन् ।

इसापूर्व ३५४ देखि प्राचीन रोममा क्रिसमस डे मनाउन थालिएको मानिन्छ । नेपालमा क्रिश्चियन धर्मको चारसय वर्षदेखिको इतिहास रहेका छ । २०६२/०६३ को जनआन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र बनेसँगै सबै धर्मका मुख्य चाडपर्व राष्ट्रिय पर्व बनेका छन् । क्रिश्चियन धर्मको प्रमुख धार्मिक ग्रन्थ बाइबलअनुसार पवित्र आत्माबाट गर्भधारण भएर कन्या आमाको कोखबाट येशुको जन्म भएको थियो । इसाई धर्मावलम्बीले मारियम नाम गरेकी ती अविवाहित कन्याको कोखबाट येशुको जन्म भएको विश्वास गर्दछन् । पछि मारियमको विवाह यशुफसँग भएको थियो । सबै धर्म र संस्कृतिको सम्मानस्वरुप क्रिसमसको दिनलाई नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । यस दिन क्रिश्चियनहरुले शुद्ध हृदयले प्रभु येशुका प्रमुख वचनहरु बाचन गरी प्रार्थना गर्ने गर्दछन् । क्रिसमसकै दिन क्राइष्ट अर्थात् प्रभु येशुको जन्म भएको विश्वास गरिएको छ । क्रिसमस डेका लागि क्रिसमस ट्रीलाई रंगाएर बत्ती र खेलौनाहरुसहितले सजाएर झकिझकाउ पार्ने गरिन्छ । सानाका लागि रातो कपडा लगाएको सेतो दाह्रीवाल सन्त क्लजले उपहारमा चकलेट, क्यान्डी, खेलौना र किताब बाँड्छन् ।

नेपाल विविध सांस्कृतिक कार्यक्रम गरेर शुभकामना साटासाट गरी क्रिसमस डे मनाइन्छ । क्राइष्टको प्रशंसायुक्त प्रार्थनापछि अंगुरको जुस पिउने र केक काट्ने परम्परा छ । चाडपर्वको मुख्य लक्ष्य मानिसमा स्फुर्ति उत्पन्न गर्नु, एकआपसबीच सम्बन्धलाई सुदृढता प्रदान गर्नु, आफन्तहरुको सुख–दुःखलाई आफ्नो ठान्नु हो । आज धर्म, जातिको बन्धन खुकुलो हुँदै गएको छ । सबैले सबैको चाडपर्वलाई सम्मानको दृष्टिले हेर्न थालेका छन् । चाडपर्व एउटा उत्साह हो, जसलाई धर्मभन्दा पनि संस्कार, संस्कृति अनि नितान्त खुशीको अभिव्यक्तिका रुपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाइ धर्मावलम्बीहरु छन्, उहाँहरुलगायत सबैका लागि यो क्रिसमस सुखमय बनोस् । क्रिसमसको उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना ।