बल हस्तान्तरण गरी टेस्ट क्रिकेट सुरु गर्दै ।

हेटौंडाः मकवानपुरको सिनियर तथा जुनियर खेलाडी सम्मिलित दुई टिमबीच दुई दिवसीय मैत्रीपूर्ण टेस्ट क्रिकेट खेल सुरु भएको छ । आइतबार बिहान सुरु भएको क्रिकेटको एउटा टिमको नेतृत्व मकवानपुरका कप्तान सुमन सुनारले गर्नुभएको छ भने अर्को टिमको नेतृत्व गौरव खड्काले गर्नुभएको छ ।

युवा खेलाडीकै सक्रियतामा मैत्रीपूर्ण टेस्ट खेल हेटौंडाको हुप्रचौरमा भइरहेको छ । बिहान ९ बजेबाट सुरु हुने खेल साँझ ४ बजेसम्म चल्नेछ । १/१ घण्टा पालैपालो व्याटिङ तथा फिल्डिङ गरी खेलिने मकवानपुर क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो । जिल्ला टिमका युवा खेलाडी र जिल्लाका किशोर खेलाडीबीच मैत्रीपूर्ण खेलबाट खेलाडीको खेल कौशल विकास हुने सचिव बानियाँ बताउनुहुन्छ ।

मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा क्यानका सदस्य दुर्गाराज पाठक, करण महत्रा, मकवानपुर जिल्ला क्रिकेट संघका सदस्य धिरज श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।