सांकेतिक चित्र ।

हेटौंडाः विशेष सूचनाको आधारमा प्रहरीले ९५ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ ८ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, बाँसपानीबाट प्रहरीले चाँदीसहित मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

भक्तपुरको कमलविनायबाट बा ५३ प ७५९७ नम्बरको मोटरसाइकलमा चाँदी चोरी गरी फरार रहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले खोजी सुरु गरेको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतको इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खोजतलास गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी नायब निरीक्षक प्रेमशंकर प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले मकवानपुरगढी–२, बाँसपानी बस्ने २० वर्षीय सन्तोष मगरको घरमा फरार मोटरसाइकल देखेपछि सोधपुछ गर्ने क्रममा चाँदीसहित फेला पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चेकजाँच गर्दा अन्दाजी ९५ तोला चाँदी फेला पारेको र स्रोत खुलाउन नसकेका कारण आवश्यक अनुसन्धानका लागि मोटरसाइकल र चालकलाई चाँदीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ ।