हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः मकवानपुरमा लेयर्स कुखुराको अण्डाको समर्थन मूल्य प्रतिक्रेट दुई सय रुपैयाँ तोकिएको छ । बुधबार तोकिएको समर्थन मूल्य किसानको लागतभन्दा प्रतिक्रेट ५० रुपैयाँ कम हो । कुखुरापालक किसान, सप्लायर्स र कुखुरा व्यवसायी संघ तीनैपक्षका प्रतिनिधि बसेर कुखुराको अण्डाको समर्थन मूल्य तोकिएको हो । तीनैपक्षले समर्थन मूल्य तोक्दा पनि किसानको लागतभन्दा कम कसरी तोकियो त ?
कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारी भन्नुहुन्छ, ‘कुखुराको अण्डाको मूल्य निर्धारण गर्ने प्रमुख आधार चितवनमा अण्डाको बजारभाउ कति छ भन्ने नै हो । चितवनको ठूलो उत्पादनका अगाडि हामीले बजारभाउ निर्धारण गर्न सक्दैनौं । चितवनका किसान र व्यवसायीले कति रुपैयाँमा अण्डा बजारमा बेचिरहेको छ भन्ने बुझेर हामी यहाँ कुखुराको अण्डाको बजार मूल्य निर्धारण गर्छौं ।’ लकडाउन यता संघले कुखुराको अण्डाको समर्थन मूल्य तोकेको थिएन । कुखुरापालक किसानले लागतभन्दा कममा एक सय ७० रुपैयाँ प्रतिक्रेटमा अण्डा बेच्न बाध्य भएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण गराएपछि मकवानपुर कुखुरा व्यवसायी संघलाई समर्थन मूल्य तोक्न दबाव बढेको थियो ।

मंगलबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको पदाधिकारीलाई आफ्ना गुनासो बताउन भेला भएका कुखुरापालक किसानहरु ।

हेटौंडा–७ र ८ का कुखुरापालक किसानको गुनासोपछि मंगलबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, सदस्यहरु सन्तोष अर्याल, रुपकराज दाहाल र कुलप्रसाद चौलागाई कुखुरापालक किसानसँग कुराकानी गर्न ७ न म्बर वडा कार्यालयमा पुगेको थियो । वडा अध्यक्ष राजन थापाको समेत उपस्थितिमा कुखुरापालक किसानले लागतभन्दा कम मूल्यमा अण्डा विक्री गर्नुपर्दा घाटा व्यहोर्न घर, घडेरी नै बेच्नुपर्ने अवस्था आएको गुनासो गरेका थिए । अण्डाको बजारमूल्य निर्धारण गर्न स्थानीय प्रशासनले नदिएको, उद्योग वाणिज्य संघले समेत अवरोध गरेको भन्ने किसानको जिज्ञासा थियो ।
किसानको गुनासो र जिज्ञासापछि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बजारमूल्य निर्धारणका लागि मकवानपुर उद्योग वाणिज्य संघको कुनै किसिमको भूमिका नभएको बरु लकडाउनका बेलामा समेत कुखुराको मासु र अण्डाको कारोबार खुलाउन स्थानीय प्रशासनलाई सहमत गराउन कुखुरा व्यवसायीलाई आवश्यक सहयोग मात्रै गरेको बताउनुभयो । साथै भोलिका दिनमा उचित बजार मूल्य निर्धारण गर्न र किसानको लागत मूल्यमा उचित नाफा रहने गरी बजार मूल्य निर्धारण गर्न स्थानीय प्रशासन र सरोकारवालासम्म किसानको पहूँच स्थापित गर्न संघले भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हेटौंडा–७ का कुखुरापालक किसान रामशरण गौतमले लागतभन्दा कम मूल्यमा किसानले अण्डा विक्री गर्नुपर्दा किसानहरु पलायन हुने स्थिति आएको बताउनुभयो । आफूले चार हजार लेयर्स कुखुरा पालिरहेको र हरेक दिन छ देखि सात हजार रुपैयाँ घाटा व्यहोर्न बाध्य भइरहेको गौतमको भनाइ छ । हेटौंडा–७ र ८ का कतिपय किसानले अब खोर खाली गरेर व्यावसायिक कुखुरापालनको काम नै छाड्न थालेको उहाँ बताउनुहुन्छ । यस्तै हेटौंडा–१६, हटियाका किसान कैलाश ढकाल पनि लागत मूल्यभन्दा कममा अण्डा विक्री गर्नुपर्दा समस्या भइरहेको बताउनुहुन्छ । सप्लायर्सले अण्डाको बजारमूल्य कम भयो भनिरहँदा माग भने नघटेको ढकालको दावी छ । लकडाउन अघि सामान्य समयमा पनि किसानसँग सप्लायर्सले अण्डा लिन नछाड्ने तर, बजारमा माग छैन भन्न पनि नछाड्ने स्थितिले सप्लायर्स र ठूला व्यवसायीको भूमिकामा ढकालले आशंका व्यक्त गर्नुहुन्छ । ‘किसानले पाउने मूल्य घट्नका लागि बजारमा माग कम भएको हुनुपर्ने हो । तर, बजारमा माग घटेको छैन ।’ ढकाल भन्नुहुन्छ, ‘बजारमा माग कायमै रहँदा मूल्य बढेन, बरु घट्यो भन्दै किसानको लागतमूल्य समेत नपाउने स्थिति छ । यस्तो स्थितिले सप्लायर्स व्यवसायीको चलखेल छ कि भन्ने बुझिन्छ ।’
मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीका अनुसार अहिले मकवानपुरमा करिव १२ सय काटुन अण्डा उत्पादन भइरहेको छ । मकवानपुरमा उत्पादित अण्डामध्ये करिब ९ सय काटुन अण्डा काठमाडौं र तराईका जिल्लाहरुमा निर्यात हुने र करिब ३ सय काटुन अण्डा जिल्लाभित्रै खपत हुने अध्यक्ष अधिकारीको भनाइ छ ।