शिक्षक अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षकहरु ।

हेटौंडा ः हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर–१० को शैक्षिक सुधारका लागि सरोकारवालाले ४ बुँदे सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । बुधबार वडा अध्यक्ष फुर्बा दोर्जे लामाको प्रमुख आतिथ्यमा सरोकारवालाले प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।

वडामा रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, वडाका सामाजिक व्यक्तित्वको उपस्थितिमा प्रतिवद्धता व्यक्त गरिएको हो । प्रतिवद्धतापत्रको पहिलो बुँदामा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई २ वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डसहितको विद्यालय बनाउने तथा प्रविधिमैत्री नमूना विद्यालयको रुपमा विकास गर्न आवश्यक सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापकीय सुधारका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिक्षकहरुले आआफ्नो विषयगत तथा तहगत जिम्मेवारी बहन गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै वडाभित्र रहेको एक मात्र सामुदायिक माध्यमिक विद्यालयलाई वडाकै गौरवको परियोजनाको रुपमा विकास गर्न तथा विद्यालयको रुपान्तरणका लागि आवश्इक स्रोत, साधनको व्यवस्थापनका लागि प्रतिवद्धता व्यक्त गरिएको छ । यस्तै विद्यालय समुदायको सम्पत्ति र जिम्मेवारी भएका कारण सरोकारवालाको रुपमा विद्यालयलाई सहयोग र्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

४ बुँदे प्रतिवद्धताअघि सोमबार र मंगलबार २ दिने वडा कार्यालयको सहयोगमा वडाका सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालयका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियो । हेटौँडा–१० मा ज्ञानदा माध्यमिक विद्यालय र संस्कृत वेद विद्यालय सरकारी विद्यालयको रुपमा सञ्चालित छ भने तुलसीमेहर मेमोरियल स्कूल र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी संस्थागत विद्यालयको रुपमा सञ्चालित छ ।

मंगलबार ‘बृहत राष्ट्रिय शिक्षा अभियान’ का संयोजक तथा प्रशिक्षक अभिषेक घिमिरेले ज्ञानदा माध्यमिक विद्यालय अवलोकन गरी तत्काल सुधार्नु पर्ने कुरा र आगामी शौक्षिक सत्रमा सुधार्नु पर्ने विषयमा बुधबार शिक्षक, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई अभिमुखीकरण गराउनुभएको थियो । ज्ञानदा माध्यमिक विद्यालयकी सहायक प्रधानाध्यपक रमा अधिकारीका अनुसार नजिकिँदै गरेको एसईईको तयारीका लागि विद्यालयमै दिवा कक्षाको व्यवस्था गरिएको छ । आआफ्नो बालबालिकाको शिक्षाको विषयमा अभिभावकलाई शिक्षाको महत्वको विषयमा स्पष्ट पार्नुपर्ने र विद्यार्थीलाई पनि पढाई प्रति चासो राख्नुपर्ने उहाँले बताउनु भयो ।

४ बुँदे प्रतिवद्धतापत्र ।