अटोमेटिक सेनेटाइजर मेसिन अवलोकन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि प्रदेश नम्बर २ बाट बागमती प्रदेश भित्रिने यात्रुहरूलाई हेटौंडा उपमहानगरले सेनेटाईज गरेर भित्राउने व्यवस्था गरेको छ । शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाईजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्रीले सुरुवात गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले यो मेसिन प्रभावकारी हुने बताउनुभयो ।
रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्य सेनेटाईज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ । अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन प्रदेशका विभिन्न स्थानहरुमा जडान गरिने उहाँले बताउनुभयो । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनि भौतिक दुरी कायम गरी सेनेटाईज गरिने हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ । मेसिनको मूल्य एक लाख ६० हजार रुपैयाँ लागतमा खरिद गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । यस्तै सेनटाईज सेवा चितवनमा पनि रहेको मञ्चले जानकारी दिएको छ ।