लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन यो अभियान विश्वभर मनाइन्छ । महिला अधिकार आन्दोलनको स्मरणमा यो अवधिलाई विश्वभर नै विशेषरुपमा लिइने गरिन्छ । महिलाविरुद्ध हुने हिंसालाई कम गर्न मनाइने विभिन्न दिवस र अभियान नेपालमा भने निरर्थक बनिरहेको छ । गम्भीर प्रकृतिका महिला हिंसाका पीडितले न्याय पाउन सकेका छैनन् । दिनहुँ हत्या र बलात्कारजस्ता जघन्य अपराधका घटना सार्वजनिक भइरहेका छन् । महिला, किशोरी तथा बालिकाले सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । सभ्य समाजलाई नै कलंकित पार्ने महिला हिंसासम्बन्धी जघन्य घटना बढिरहँदा यस्ता अभियान नै निरर्थक बन्ने गरेको छ । लैंङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन भइरहेकै अवस्थामा मुलुकका विभिन्न भागमा हिंसाका अनेक घटना सार्वजनिक भइरहेका छन् ।

यस पटकको लैंङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा नेपालमा दुईवटा घटनाले निकै चर्चा पायो । विवाह रद्ध भएका कारण केटीले आत्मदाह गरेको र आफ्नै श्रीमतीको टाउको गिँडेर झोलामा बोकी प्रहरी कार्यालय जाँदै गरेका पुरुष पक्राउको घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पायो । अभियानकै बिचमा सबैलाई झस्काउने गरी भएका यी दुई घटना प्रतिनिधिमात्र हुन् । काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालन गरिरहेकी नुवाकोटकी पुष्पा न्यौपानेले मंसिर १८ गते आफैंलाई जलाइन् । आर्थिक प्रशासनमा स्नातकोत्तर गरेकी पुष्पाले धुम्बाराहीस्थित प्रेमी सुधन संग्रौलाको घरको गेटमा गएर पेट्रोल छर्केर आत्मदाह गरेकी हुन् । गत भदौ १८ गते इन्गेजमेन्ट गरेर विवाह गर्न ठिक्क परेको प्रेमीसँगको सम्बन्धमा आएको खटपटकै कारण पुष्पाले हात्मदाह गरेकी हुन् । केटा पक्षले मंसिर १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरेर विवाह रद्ध गरेपछि पुष्पाले केटाकै घरको गेटमा आत्मदाह गरेकी हुन् ।

अभियानकै बीचमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेले आफ्नै ३० वर्षीया श्रीमती मीना आलेमगरको घाँटी काटेर प्लाष्टिकको झोलामा हालेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । हँसियाले घरमा पत्नीको हत्या गरेर टाउको प्लास्टिकमा राखेर जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । १० वर्षभन्दा बढी वैदेशिक रोजगारीमा बिताएका अम्मरले कमाएको पैसाको हिसाब श्रीमतीले दिन नसकेको र श्रीमतीले डिभोर्स दिन्छु भन्दै मानसिक तनाव दिएको निहुँमा यो हत्या भएको प्रहरीको प्रारम्भीक अनुमान छ । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा हत्या, लैंङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, शारीरिक÷मानसिक यातनाका घटना सार्वजनिक हुनुले अभियानको सार्थकतामाथि प्रश्न उठेको छ ।
समाज जतिसुकै सचेत र शिक्षित हुँदै गए हिंसाजन्य घटना बढ्दै जानु र यसको नियन्त्रण चुनौती बनिरहेको छ । लैङ्गिक हिंसाजन्य घटना नियन्त्रणका लागि अभियान चलाउँदै आए पनि प्रभावकारी हुन सकेको छैन । महिला हिंसा र अधिकारबारे चेतनाको विकास हुँदै गएको भए पनि हिंसाजन्य घटना न्यूनीकरण हुन नसक्नु विडम्बना हो । हिंसामुक्त समाज र देश बनाउनका लागि घरबाटै सुरुवात हुनुपर्छ । घर, परिवार, टोल, गाउँ, जिल्ला, देशलाई हिंसामुक्त बनाउँदै विश्व शान्तिको लागि अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । महिलाबिरुद्ध भइरहेका हिंसा अन्त्यका लागि बनेका नियम कानुनको प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ ।