हेटौँडाः हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रम परिसरमा आयोजित एक कार्यक्रममा आकर्षणका केन्द्र हुनुहुन्थ्यो नेपथ्यका नेता अमृत गुरुङ । सादा जीवन जिउँदै संगीत सिर्जनामा तल्लिन नेपथ्यका नेता गुरुङले मानवसेवा आश्रम परिसरमा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्बोधन गर्दै भन्नुभयो, “म पटक–पटक हेटौंडा आएको छु । कहिले भीम विराग दाईलाई भेट्न आएँ । चरम द्वन्द्वको समयमा शान्तिका लागि शिक्षाको अभियान लिएर हेटौंडा आएँ । यस पटक भने म मानवताका लागि हेटौंडा आएको छु ।”
गुरुङ नेतृत्वको नेपथ्य समूहले आज बिहीबार हेटौंडा–४ स्थित भुटनदेवी माविको खेलमैदानमा मानवताका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ । मानवसेवा आश्रमले देशका प्रमुख १० शहरमा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमअन्तर्गत तेस्रो कार्यक्रमको रुपमा हेटौंडामा आज सांगीतिक कार्यक्रम हुन लागेको हो । प्रदेश नम्बर १ को विराटनगरबाट सुरु भएको सांगीतिक यात्रा मधेश प्रदेशको बीरगन्ज हुँदै आज बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रस्तुत हुँदैछ ।
मानवताका लागि सांगीतिक कार्यक्रमको पूर्वसन्ध्यामा मानवसेवा आश्रममा आयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुभएका नेपथ्य नेता गुरुङले सहाराविहिनका लागि सहयोगी बनेको मानवसेवा आश्रमसँगको सहकार्यले मानवता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गुरुङको योगदान र सहकार्यप्रति सम्मान व्यक्त गर्दै मानवसेवा आश्रमले उहाँलाई सम्मान गरेको छ । हेटौंडाका कलाकार माधव सिलवालले नेपथ्य नेता गुरुङको चित्र कोरेर उपहार प्रदान गर्नुभयो ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले ७ प्रदेशका १६ जिल्लामा २३ सय आश्रितलाई मानवसेवा आश्रममार्फत सेवा गरिरहेको जानकारी दिनुभयो । २०८२ सालसम्ममा सडकमा सहयोगापेक्षी मानवरहित मुलुक बनाउने लक्ष्यसहित कार्य गरिरहेको उहाँले बताउनुभयो । मानवसेवा आश्रमको अभियान हेटौंडाबाटै सुरु भएको स्मरण गर्नुहुँदै लक्ष्यमा पुग्न सबैको साथ र सहयोग प्राप्त हुने अधिकारीको भनाइ छ ।
कार्यक्रममा पत्रकार प्रताप विष्टले हेटौंडाको नयाँ परिचयको रुपमा मानवसेवाको कार्यको सुरुवात भएको स्थानको रुपमा रहेको उल्लेख गर्नुभयो । संगीतले मनोरञ्जन मात्रै नभई मानवताको कर्म गर्ने उदाहरणको रुपमा सांगीतिक कार्यक्रम हुन लागेको र यसमा सबैको साथ र सहयोग रहनुपर्ने विष्टको भनाइ थियो । सांगीतिक कार्यक्रमका संयोजक पुरन बहादुर जोशीले संगीतमा दम हुने उल्लखे गर्नुहुँदै संगीतलाई नरुचाउने निराशावादी हुने बताउनुुभयो । संगीतको माध्यमबाट नेपथ्यले शिक्षा र शान्तिको क्षेत्रमा सहयोग गर्दै आएकोमा अहिले मानवताका लागि नेपथ्यले गरेको सहयोग सराहनीय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्ति तथा संघ, संस्थाले आजीवन वर्षमा एक दिनको खानाका लागि २ लाख ६१ हजार १११ रुपैयाँ सहयोग सहयोग गरेका छन् । हेटौंडा–४ स्थित नवोदय शिशु सदन, विश्वकान्ति कलावती पराजुली, व्यवसायी नवराज अर्यालले आजीवन एकदिनको खानाका लागि रकम सहयोग गर्नुभएको हो । यस्तै आजीवन वर्षको एक दिनको एक छाक खानाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ पनि सहयोग गरिएको छ । सिद्धिलाल श्रेष्ठ, प्रकाश पौडेल, स्वागत राज प्याकुरेलले वर्षको एकदिनको एकछाक खानाका लागि सहयोग गर्नुभएको हो ।