सांकेतिक तस्विर ।

हेटौंडाः बागमती प्रदेशको समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशको १२ वटा जिल्लाको मतगणना सकिएसँगै हालसम्मको मत परिणामअनुसार प्रदेशको प्रत्यक्षमा नेपाली कांग्रेस र समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ ।

दोलखा जिल्लाको मतदानमा विवाद भएपछि निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रको मतदान रद्द गरेको थियो । रद्द गरिएको मतदान केन्द्रको मतदान आज बिहीबार गर्ने आयोगले निर्णय गरेको छ ।

बागमती प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ । नेपाली कांग्रेसले २४ सिट, नेकपा माओवादीले १४ सिट र नेकपा एमालेले १२ सिट प्राप्त गरेको छ । यस्तै, नेकपा एमालेले बागमती प्रदेशमा समानुपातिकतर्फ ५ लाख ५४ हजार एकसय मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । प्रदेशको समानुपातिकमा नेपाली कांग्रेस ४ लाख ६३ हजार एकसय ३८ मत प्राप्त गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले समानुपातिकमा २ लाख ६९ हजार २ सय १५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ६६ हजार ५ सय २४ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ पनि नेकपा एमाले अगाडि रहेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख ३ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २५ लाख ६४ हजार २ सय ८७ मत, नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७ सय ३३ मत प्राप्त गरेको छ । यस्तै, पहिलो पटक निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार २ सय २८ मत प्राप्त गरेको छ । यस्तै, प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पनि नेपाली कांग्रेस अगाडि रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ५४ सिटमा विजयी भएको छ भने नेकपा एमाले ४४ सिटमा विजयीसँगै दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट प्राप्त गरेको छ ।

बागमती प्रदेशको प्रत्यक्षतर्फ रामेछाप क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ, रामेछाप १ को (ख)मा नेकपा माओवादी केन्द्रका युवराज चौलागाई, सिन्धुली १ को (क)बाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद भट्टाई र (ख) बाट नेपाली कांग्रेसका रामकुमार पहाडी, सिन्धुली २ को (क) बाट नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन, (ख) बाट माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका हुन् ।

यस्तै, रसुवा १ को (क) बाट नेपाली कांग्रेसका प्रभात तामाङ, (ख) बाट नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद गोतामे, धादिङ १ को (क) मा नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठ, धादिङ १ को (ख) बाट नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल, २ को (क) मा नेपाली कांग्रेसका गोविन्द लम्साल र २ को (ख) मा राप्रपाका डम्बर तामाङ विजयी भएका हुन् । यता नुवाकोट क्षेत्र नम्बर १ को (क) बाट माओवादी केन्द्रकी राधिका तामाङ, (ख) बाट नेपाली कांग्रेसका रमेशकुमार महत, २ को (क) बाट नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुंगाना, २ को (ख) बाट नेपाली कांग्रेसका बहादुर सिंह लामा विजयी भएका छन् ।

प्रदेशमै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा धेरै सिट कांग्रेसले जितेको छ । काठमाडौं क्षेत्र नम्बर १ को (क) बाट नेपाली कांग्रेसबाट दीपेन्द्र श्रेष्ठ, (ख) मा नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने, २ को (क) मा राप्रपाका सुनिल केसी, (ख) मा राप्रपाका राजु विष्ट, ३ को (क) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा, (ख) मा नेपाली कांग्रेसका बिमल ठकुरी, ४ को (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने, (ख) मा नेकपा एमालेका जयराम थापा, ५ को (क) मा राप्रपाका राजेन्द्र प्रजापति, (ख) मा नेपाली कांग्रेसका श्यामबहादुर खड्का विजयी भएका छन् । यस्तै, ६ (क) मा नेपाली कांग्रेसका हरिप्रभा खड्गी, (ख) मा नेकपा एमालेका अमनकुमार मास्के, ७ (क) बाट नेकपा समाजवादीका बसन्तप्रसाद मानन्धर, ७ (ख) बाट नेकपा एमालेका प्रकाश श्रेष्ठ, ८ (क) बाट हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य, (ख) बाट राप्रपाका उद्धब थापा, ९ (क) बाट राप्रपाका नुरज बज्राचार्य, ९ (ख) बाट नेकपा एमालेका केशबप्रसाद पोखरेल, १० (क) बाट नेपाली कांग्रेसका पुकार महर्जन र (ख) बाट समाजवादीका रमा आले मगर विजयी भएका छन् ।

भक्तपुर १ (क) बाट नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, (ख) बाट नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज गोसाई, २ (क) बाट नेकपा एमालेका किरण थापामगर, (ख) बाट समाजवादीका राजेन्द्रमान श्रेष्ठ प्रदेशसभा सदस्य भएका छन् । त्यसैगरी, ललितपुर १ (क) बाट नेकपा एमालेका मधुसुदन पौडेल, (ख) बाट नेपाली कांग्रेसका मीनकृष्ण महर्जन, २ (क) बाट नेकपा एमालेका रामेश्वर श्रेष्ठ, (ख) बाट नेपाली कांग्रेसका रामकृष्ण चित्रकार, ३ (क) बाट एमालेका रघुनाथ महर्जन, (ख) बाट नेकपा एमालेका प्रेमभक्त महर्जन विजयी भएका हुन् ।

यता, काभ्रेपलाञ्चोक १ को (क) बाट नेकपा माओवादीका रत्नप्रसाद ढकाल, (ख) बाट नेपाली कांग्रेसका तीर्थबहादुर लामा, २ (क) बाट समाजवादीका लक्ष्मण लम्साल, (ख) बाट नेपाली कांग्रेसका कञ्चनचन्द्र वादे निर्वाचित भएका छन् । सिन्धुपाल्चोक १ (क) बाट नेपाली कांग्रेसका मसिना खड्का, (ख) बाट माओवादी केन्द्रका सरल सहयात्री पौडेल, २ (क) बाट माओवादी केन्द्रका युवराज दुलाल, (ख) बाट नेपाली कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका हुन् ।

मकवानपुर १ (क) बाट माओवादीका प्रेमबहादुर पुलामी, (ख) बाट नेकपा एमालेका एकालाल श्रेष्ठ, २ (क) मा नेकपा माओवादीका कुमारी मोक्तान, (ख) मा नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । चितवन १ को (क) मा एमालेका जगनाथ थपलिया, (ख) बाट समाजवादीका कृष्णप्रसाद शर्मा खनाल, २ (क) मा एमालेका कृष्णप्रसाद सिलवाल, (ख) मा नेपाली कांग्रेसका उत्तम जोशी, ३ (क) मा राप्रपाका गिरबहादुर तामाङ र (ख) मा माओवादीका ठाकुरप्रसाद ढकाल विजयी भएका छन् ।