हेटौंडाः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मकवानपुरमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मतगणना कार्य सकिएको छ । मकवानपुरमा प्रतिनिधिसभातर्फका दुई निर्वाचन क्षेत्र र प्रदेश सभातर्फका चार वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको हो ।

मकवानपुरमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा धेरै संख्यामा मत बदर भएको छ । मकवानपुरमा यसपटक ३१ हजार ४ सय ७४ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर १ मा ९१ हजार ४ सय ८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ । यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ मकवानपुर १ को (क) मा ४६ हजार २ सय ३० मत खसेकोमा १ हजार ६ सय ६३ मत बदर भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा ४५ हजार ८० मत खस्दा १ हजार ५ सय ४ मत बदर भएको छ ।

प्रतिनिधिसभाकै प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर २ मा ८६ हजार ३ सय १ मत खसेकोमा ४ हजार १ सय २ मत बदर भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ २ को (क) मा ४५ हजार ८ सय ५३ मत खसेकोमा १ हजार ५ सय ९९ मत बदर भएको छ । यस्तै, प्रदेश सभा २ को (ख) मा ४३ हजार ३ सय २९ मत खसेकोमा १ हजार ४ सय ९४ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा ९१ हजार ५ सय २७ मत खसेकोमा ३ हजार ५ सय ८२ मत बदर भएको छ भने ८७ हजार ९ सय ४२ मत सदर भएको छ । प्रदेशसभा समानुपातिकतर्फ मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ४५ हजार ७५ मत खसेकोमा १ हजार ६ सय ९८ मत बदर भएको छ भने ४३ हजार ३ सय ६ मत सदर भएको छ । यस्तै, प्रदेशसभा समानुपातिकतर्फ १ को (ख) मा ४६ हजार १२ मत खसेकोमा २ हजार ३ सय ९५ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ ८६ हजार ३ सय ३८ मत खसेकोमा ४ हजार १ सय १४ मत बदर भएको छ भने ८२ हजार २ सय २४ मात्रै सदर भएको छ । प्रदेशतर्फ ८६ हजार ३३ मत खसेकोमा ५ हजार २ सय ६६ मत बदर भएको छ भने ८० हजार ७ सय ६७ मत मात्र बदर भएको छ ।

मकवानपुरमा यस पटकको निर्वाचनमा ३ लाख ७ सय ३३ मतदाता मध्ये १ लाख ७८ हजार २ सय ८२ जनाले मात्र मतदान गरेका थिए, जुन करिब ५९ प्रतिशत हुन आउँछ । मकवानपुरमा यस पटक बदर भएको भनिएको मत भने विगतका भन्दा केही फरक देखिएको थियो । यस पटकको बढी बदर मतमा मतदाताहरुले मतपत्रमा भएको सबै चुनाव चिन्हमा छाप लगाउने र कुनै छापै नलगाएको पनि पाइएको थियो । बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले मतदाता शिक्षा सञ्चालन गरे पनि यति धेरै संख्यामा मत बदर हुनु आश्चर्यजनक रहेको बताउनुभयो । अहिले मतदाताहरुमा राजनीतिक दल र उम्मेदवारप्रतिको वितृष्णाले पनि यसो भएको हुनसक्ने उहाँले बताउनुभयो । नजानेर वा जानेरै पनि मत बदर गरिएको हुनसक्ने पोखरेलले बताउनुभयो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बदर मत कम भएको उहाँले बताउनुभयो । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता सन्तोषजनक रहेको उहाँले बताउनुभयो । सबै मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउने आयोगको लक्ष्य रहे पनि सो अनुसार हुन नसकेको उहाँले बताउनुभयो ।

जिल्लामा ५९ प्रतिशत मतदाताले मात्रै मतदान गर्नु अपेक्षा गरेभन्दा कम रहेको उहाँले बताउनुभयो । स्थानीय निर्वाचनमा भने एउटै वडाभित्रका टोलटोलमा उम्मेदवार रहने हुँदा मतदातालाई पनि चासो हुने र मतदान केन्द्रसम्म पुग्ने गरेको, तर यस पटकको निर्वाचनको महत्व नबुझेर वा दल तथा उम्मेदवारदेखि रुष्ट हुँदा मतदाताको सहभागितामा कमि आएको हुन सक्ने उहाँको भनाई छ ।

बागमती प्रदेश निर्वाचन कार्यालयले बदर मत कम होस् भन्ने उद्देश्यले मकवानपुरको १० वटा स्थानीय तहको १ सय २ वटै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । मतदान हुने दिनभन्दा दुई साता अगाडिदेखि आयोगले वडा–वडामा स्वास्थ्य स्वयम्सेविकाहरुलाई खटाएर मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेबारे आम मतदातालाई जानकारी गराएको थियो । यस पटकको निर्वाचनमा ४ प्रकारको मतपत्रमा मतदान गर्नुपर्ने थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ, दोस्रो पटक प्रतिनिधिसभाको समानुपातिकतर्फ, तेस्रोमा प्रदेशसभाको प्रत्यक्षतर्फ र अन्तिम तथा चौथोमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्रमा मतदान गर्नुपर्ने थियो ।