स्थानीयले सडकमा अवरोध गरेपछि रोकिएका सवारी साधन ।

हेटौंडाः दुर्घटनामा घाइतेको उपचार खर्च नव्यहोरेको भन्दै स्थानीयले हेटौंडा–सिन्धुली सडकखण्डको हेटौंडा–१८, खड्कुलेमा सडकमा अवरोध गरेका छन् । सोमबार बिहान ९ बजेदेखि स्थानीयले सडकमा अवरोध गरेपछि हेटौंडा बजारबाट हटिया, हर्नामाडीदेखि पूर्वक्षेत्रमा चल्ने स्थानीय रुटका सवारी साधनसहित हेटौंडा–सिन्धुली आउजाउ गर्ने निजी तथा भाडाका सवारी साधन रोकिएका छन् ।

गत शुक्रबार फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बस र हेटौंडा बजारबाट हर्नामाडीतर्फ जाँदै गरेको ना ४७ प ३०४४ नम्बरको मोटरसाइकल हेटौंडा–६, गौरिटारमा आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार हेटौंडा–१८ का २८ वर्षीय आशिष ढकालको मृत्यु भएको थियो भने २९ वर्षीय दीपु लामा गम्भीर घाइते भएका थिए । घाइते लामाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते लामाको उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकप्टरको प्रयोग भएको र हेलिकप्टरको भाडा दिन नमिल्ने भनेपछि विवाद भएको प्रहरीले उल्लेख गरेको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभएको छ । सडकमा अवरोध हुँदा यात्रु मर्कामा परेको स्थानीयले जानकारी दिएका छन् ।