प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत् आइतबार देशभर मतदान सम्पन्न भएको छ । केही ठाउँका सामान्य विवाद र छिटपुट घटनाबाहेक सबैतिर शान्तिपूर्ण मतदान भएको समाचारहरु आएका छन् । निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भीक अनुमान छ । आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ६१ प्रतिशत मतदान भएको आयोगका प्रमुख निर्वाचन आयुक्तले जानकारी दिएका छन् । सबै विवरण प्रविष्ट हुँदा खसेको मत केही प्रतिशत थप हुनसक्ने आशा निर्वाचन आयोगले गरेको छ । आयोगले आइतबार साँझ ७ः५० मा पत्रकार सम्मेलन गर्दै अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको जानकारी दिएको छ । मकवानपुर जिल्लामा पनि ६० प्रतिशतकै हाराहारीमा मतदान भएको अनुमान गरिएको छ ।
निर्वाचन आयोगका अनुसार आइतबार भएको मतदानमा देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगित भएको आयोगले जानकारी दिएको छ । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक÷एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि निर्वाचन आयोगले जानकारी दिएको छ । विप्लब नेतृत्वको नेकपालगायत केही साना दलहरुको विरोध र बहिस्कारका बाबजुद मतदान सम्पन्न भएका छन् । अपेक्षितरुपमा मत नखसे पनि तुलनात्मकरुपमा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । मतदान स्थगित भएका केन्द्रहरुमा निर्वाचनमा सहभागी दलहरुबीचकै विवादका कारण मतदान स्थगित भएको बताइएको छ ।
निर्वाचन शतप्रतिशत शान्तिपूर्ण र विवादरहित हुनु राम्रो हो । तर, देशभरका १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ वटा मतदान केन्द्रमध्ये केहीमा सामान्य विवाद र घटना हुनुलाई सामान्य मान्नुपर्छ । विगतका निर्वाचनहरुको तुलनामा यस पटकको निर्वाचनमा ठूला घटना नहुनुलाई सुखद् मान्नैपर्छ । अब आम मानिसको चासो भनेको चुनावको नतिजा कस्तो आउला ? भन्ने नै हो । त्यो पनि केही दिनमा थाहा पाइहालिन्छ । त्यो भन्दा महत्वपूर्ण कुरा भनेको चुनावमा आउने नतिजाले देशको भावी राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने हो । निर्वाचनबाट विजयी हुने जनप्रतिनिधिले मुलुकमा राजनीतिक स्थायित्व, दीर्घकालीन शान्ति, आर्थिक समृद्धि र विकासजस्ता नेपाली जनताका चाहना पूरा गर्न सक्लान् कि नसक्लान् भन्ने आम मतदाताको चासो र चिन्ता भने यथावत रहेको छ ।
निर्वाचनको सबैभन्दा महत्वपूर्ण कार्य मतदान सम्पन्न भएको छ । अब केही दिनभित्र मतगणना सम्पन्न भई मत परिणाम सार्वजनिक हुनेछ । त्यसले आगामी ५ वर्षका लागि संघीय तथा प्रदेशले व्यवस्थापिकाका सदस्य पाउनेछ । तिनै व्यवस्थापिकाका सदस्यले कार्यपालिकाको प्रमुख निर्वाचित गर्नेछ र संघ तथा प्रदेशमा मन्त्रिमण्डल गठन हुनेछ । अहिलेको निर्वाचनले कुनै एउटा राजनीतिक दलको स्पष्ट बहुमत आउने सम्भावना निकै न्यून देखिएको छ । मतदानको आधारमा गरिएका पूर्वानुमानभन्दा मत गणनापछि आउने यथार्थ नतिजाले मुलुकका भविष्यको राजनीतिक कार्यदिशा निर्दिष्ट गर्दछ । निर्वाचनमा आम नागरिकले मतदान गरेर आफ्नो जिम्मेवारी पूरा गरिसकेको हुँदा अब विजयी उम्मेदवार तथा राजनीतिक दलको कार्यशैलीले देशको भविष्य निर्धारण गर्नेछ ।