हेटौंडा-४ स्थित भुटनदेवी माविस्थित मतदान केन्द्रमा मतदातालाई मतपत्र वितरण गरिँदै ।

हेटौंडाः प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आइतबार सकिएको छ । निर्वाचन सकिएसँगै मतदान केन्द्रबाट मतपत्रहरु मतगणनास्थलमा लगिएको छ । आइतबारको निर्वाचनमा मतदाताहरुमा खासै उत्साह देखिएन । जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत मात्रै हो । जिल्लामा ७०–८० प्रतिशत मत खस्ने अपेक्षा गरिएपनि मतदाताहरु मतदानप्रति उत्साहित नहुँदा अपेक्षा अनुरुप मत खसेको छैन ।

मकवानपुरका बरिष्ठ पत्रकार प्रताप विष्टले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको जानकारी गराउनुभयो । उहाँका अनुसार अहिलेको निर्वाचनमा मतदाताहरुमा उत्साह देखिएन । स्थानीय तहको निर्वाचनमा जस्तो अहिलेको निर्वाचनमा मतदातामा बढी निरासा देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा स्थानीय तहमा जस्तो हुँदैन । स्थानीय तहको निर्वाचनमा एउटै वडामा २५–३० जना उम्मेदवार हुन्छन् । आफ्नै छरछिमेकको उम्मेदवारहरु हुने हुनाले मतदातामा छुट्टै उत्साह हुन्छ ।” अहिलेको निर्वाचनमा मतदाताले खोजेको जस्तो उम्मेदवार नपाएकोले पनि स्थानीय निर्वाचनमा जस्तो उत्साह नदेखिएको उहाँले स्पष्ट पार्नुभयो । निर्वाचनका उम्मेदवारहरु मतदाताले नरुचाएका कारण पनि सक्रियता नदेखिएको उहाँको भनाई छ ।

उहाँले थप्नुभयो, “राजनीतिक दलहरुले पनि नयाँलाई उम्मेदवार दिनुपथ्र्यो । अहिलेको निर्वाचन भनेको नयाँ ढंगले ऐन कानून निर्माण गर्ने हो । तर, उम्मेदवारहरुको एजेण्डा वडा अध्यक्ष र मेयरले गर्ने जस्तो भयो ।” बाटो बनाउने, पुल बनाउने जस्ता विकास निर्माणका एजेण्डाहरु लिएर उम्मेदवारहरु जनता माझ पुग्दा उनीहरुमा निराशा छाएको उहाँले बताउनुभयो । उम्मेदवारप्रति मतदाताको वितृष्णा बढ्दै गएको उहाँले बताउनुभयो । “स्थानीय निर्वाचनमा प्रत्येक वडाका उम्मेदवारहरु हुन्छन् । सबैलाई चिनेको हुन्छ । घरघरमा जाने मतदान गराउने हुन्छ । सबैलाई समेट्न खोजिन्थ्यो,” उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनमा आत्मीयता बढी हुन्छ । आफ्नो टोल छरछिमेकमा विकास गर्नुपर्छ भन्ने पनि हुन्छ ।”

हेटौंडा–६, चौघडास्थित बंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले निर्वाचनमा मतदाता उत्साहित नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा जति अपेक्षा गरिएको थियो त्यो अनुरुप भएन । जति चहलपहल गरिएको थियो त्यस्तो भएन । मतदाता निरास जस्तो देखिए । बाध्यताले मात्र मतदान गरेका छन् ।” उहाँका अनुसार मतदातामा उत्साह देखिएन । दलका प्रतिनीधिहरुले वृद्धवृद्धा र बिरामीहरुलाई घरबाट ल्याएर मत खसाल्न लगाएको उहाँले जानकारी दिनुभयो । रोजगारीको समस्याका कारण यूवाहरु विदेशीनु परेको छ, जनताको आयस्तर घटेको छ जसले गर्दा यूवाहरुमा आक्रोश रहेको उहाँको अनुमान छ ।

अहिलेको निर्वाचनमा मतदातामा उदासिनता देखिएको उहाँले बताउनुभयो । राजनीतिक विचार दर्शनको दलीय अनुशासन र दलीय पहिचान कायम भएन, त्यसले पनि निर्वाचनमा उत्साह भएन । उहाँले थप्नुभयो, “निर्वाचनमा दलीय पहिचान गुमेको छ । निराशाको कारण बाध्यताले मात्र मतदान गरेका छन् । अहिलेको निर्वाचन विचारका चुनाव पनि होइन । तालमेल÷गठबन्धन भनिएको छ । यसले स्थानीयमा निरास बनाएको छ ।” उम्मेदवारले विजय भएपछि पनि जनसमुदायको हितमा भएको काम कुराहरुको विषयमा बुझ्न थालेको उहाँले बताउनुभयो । सांसदहरुले बनाउने नीति, ऐन, कानून बिर्सिएर बजेट दुरुपयोग गरेको भन्ने कारणले पनि चुनावप्रति वितृष्णा भएको उहाँको भनाई छ ।

यस्तै, बालजागृति युवा वर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारीले स्थानीय चुनावमा भन्दा अहिलेको निर्वाचनमा उत्साह कम भएको बताउनुभयो । अघिल्लो निर्वाचनमा जस्तो उत्साहित अहिले नदेखिएको उहाँले बताउनुभयो । निर्वाचनमा मतदाताको उत्साह नहुनुमा यूवाहरु विदेश पलायन हुनु प्रमुख कारण रहेको उहाँको भनाई छ । स्थानीय निर्वाचनमा बृद्धबृद्धालाई पनि समेटिएको भन्दै उहाँले यसपटक वृद्धवृद्धालाई नसमेटिएको गुनासो गर्नुभयो । उहाँको अनुसार निर्वाचनमा रोजेको खोजेको जस्तो उम्मेदवार नहुनुले पनि मतदानप्रति चासो घटेको हो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा यूवाहरुमा चेतनाकोस्तर बढेको छ । उम्मेदवार कत्तिको सक्षम छ भन्ने हेरेर मात्र मतदान गरेका छन् । पार्टीप्रति भन्दा पनि सक्षम व्यक्ति हेर्नुपर्छ भन्ने भएको छ । यूवाहरुमा चेतनाको विकास भएको छ ।”