नेपालीहरुको मुख्य चाडपर्वको समयमा बजारमा दैनिक उपभोग्य तथा अन्य वस्तुको अस्वभाविक मूल्यवृद्धि हुने गरेको छ । प्रायःजसो तीज, दशैं, तिहार, छठजस्ता नेपालीहरुको महत्वपूर्ण चाडपर्वको आगमनसँगै तरकारी र अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने गरेको छ । चाडपर्वको समयमा खाद्यान्न, तरकारीजस्ता दैनिक उपभोग्य सामग्रीको मूल्य अस्वभाविक ढंगले वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् । उपभोक्ताले दैनिक प्रयोग गर्ने वस्तुको मूल्यबृद्धिको मार सबै नागरिकले सहनुपर्ने बाध्यता बनेको छ । चाडबाडको बेलामा बढी खपत हुने वस्तुको मूल्यबृद्धि हुनु पक्कै राम्रो होइन । बजारमा देखिने तमाम अव्यवस्था र विकृति नियन्त्रण गर्न प्रभावकारी अनुगमन आवश्यक हुन्छ । तर, बजार अनुगमन गर्ने जिम्मेवार निकायले खासै चासो नदेखाउँदा आम उपभोक्ता मूल्यवृद्धिको मारमा पर्ने गरेका छन् ।
केही सातादेखि बजारमा हरियो तरकारीको मूल्य निकै उच्च बनेको छ । तिहारको समयमा बजारमा तरकारी तथा फलफूलको मूल्य अत्यधिक वृद्धि भएको थियो । तरकारी नाशवान प्रकृतिको वस्तु भएका कारण यसको मूल्य माग र आपूर्तिमा निर्भर रहन्छ । कुनै दिन बजारमा तरकारीको आपूर्ति बढी भएमा मूल्य कम हुने र आपूर्ति कम भएमा मूल्यवृद्धि हुने गर्दछ । तर, चाडपर्वको समयमा माग र आपूर्तिको सन्तुलनबाट मात्र मूल्य निर्धारण नभई व्यापारीले अस्वभाविक मूल्यवृद्धि गर्ने गरेको पाइन्छ । थोक बजारमा प्रायः एउटै मूल्यमा खरिद गरिएका तरकारी तथा फलफूल खुद्रा व्यापारीले फरक–फरक मूल्यमा बिक्री गर्ने गर्दछन् । एउटै बजारमा एकै प्रकारका तरकारी तथा फलफूलको मूल्यमा १० देखि ३० प्रतिशतसम्म अन्तर पाइने गरेको छ । उपभोक्ताले बढी मूल्य तिर्दा पनि दुःख गरेर तरकारी उत्पादन गर्ने किसानले भने त्यसको आधा मूल्य पनि पाउने गरेका छैनन् । यसको मुख्य कारण भनेको तरकारीको व्यापारमा रहेका आवश्यकताभन्दा बढी बिचौलियाको उपस्थिति र बिचौलियाले नै खरिद र बिक्री मूल्य तोक्ने परिपाटी नै हो ।
चाडपर्वको समयमा तरकारीमा अस्वभाविक मूल्य वृद्धि भइरहँदा पनि आम उपभोक्ता, उपभोक्तावादी संघसंस्था, अनुगमनको जिम्मेवारी पाएको सरकारी निकाय सबै मौन रहँदा बिचौलियालाई सहज भइरहेको देख्रिन्छ । हुन त मूल्यवृद्धि हुनुको धेरै कारण हुन्छन् । तर, नेपालमा भने धेरैजसो बजार मध्यस्थकर्ता वा बिचौलियाको चलखेलका कारण मूल्यवृद्धि हुने गरेको पाइन्छ । वितरण प्रक्रियामा उत्पादकले उत्पादन गरेको वस्तु उपभोक्तासम्म पुग्दा विभिन्न मध्यस्थकर्ताको संलग्नता हुने गर्दछ । अस्वभाविक ढंगबाट मूल्यवृद्धि हुँदा पनि नियमनकारी निकाय सक्रिय नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।
अधिकांश वस्तुमा मध्यस्थकर्ता वा बिचौलियाका कारण मूल्यवृद्धि भइरहेको देखिन्छ । तरकारी, फलफूल तथा खाद्यान्न उत्पादन गर्ने किसानले प्राप्त गर्ने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच देखिएको ठूलो अन्तरले यसलाई पुष्टि गर्दछ । मूल्यवृद्धि नियन्त्रणमा सरकारी नियमनकारी निकायका साथसाथै निजी क्षेत्रका व्यावसायिक संघसंस्थाको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । उद्योग वाणिज्य संघ, वस्तुगत संघहरु, उपभोक्ता अधिकारवादी संस्था एवम् स्थानीय सरकारले मूल्य नियन्त्रणका लागि समन्वयात्मक भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ । आम उपभोक्ता मूल्यवृद्धिको मारमा पिल्सिरहँदा जिम्मेवार निकाय मूकदर्शक भएर बस्नु हुँदैन । अहिले बजारमा देखिएको तरकारीको मूल्यवृद्धि नियन्त्रणका लागि पनि सरोकारवाला निकायहरुले उचित कदम चाल्नु आवश्यक छ ।