हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदाता शिक्षा सञ्चालनको तयारी तीव्र पारिएको छ । मकवानपुरका सबै स्थानीय तहहरुमा पालिकास्तरीय मतदाता शिक्षा समिति गठन गरेर तयारी तीव्र पारिएको बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले बताउनुभयो ।
मतदाता शिक्षाका लागि मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पालिकास्तरीय समिति गठन भइसकेको प्रमुख पोखरेलले बताउनुभयो । मतदाता शिक्षा निर्देशिका २०७९ अनुसार आगामी चुनावका लागि पालिकास्तरीय मतदाता शिक्षा समिति गठन गरिएको हो ।
पालिकास्तरीय समितिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्य रहने उहाँले बताउनुभयो । समितिमा पालिकाको सामाजिक विकास महाशाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुख सदस्य तथा निर्वाचन फोकल पर्सन सदस्य सचिव रहनेछन् । यस्तै वडाहरुमा वडा सचिवको नेतृत्वमा वडास्तरीय समिति रहनेछ । वडामा एक जना स्वास्थ्य स्वयम्सेविका रहनेछन् । स्वयम्सेविकाले मतदाता सूचीमा नामावली समावेश भएकाहरुलाई सही मतदान गर्ने तरिका सिकाउने उहाँले बताउनुभयो । पालिकास्तरीय समितिले मंसिर १ गतेसम्ममा आवश्यकताअनुसार मतदाता शिक्षा अभिमुखीकरण गर्न पाउने उहाँले बताउनुभयो ।
मतदाता शिक्षा अभिमुखीकरणका लागि हेटौंडा उपमहानगरपालिकाको पालिकास्तरीय समितिले मंगलबार १९ वटै वडाका वडा सचिवहरुलाई भेला गराएर मतदाता शिक्षाका लागि आवश्यक सामग्री पठाएको छ । हेटौंडामा आइतबारबाट वडास्तरीय समितिले मतदाता शिक्षा सञ्चालन गर्ने तयारी भएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले जानकारी दिनुभयो । यसका लागि सबै वडासचिवहरुलाई जिम्मेवारी दिएर पठाइसकेको उहाँले बताउनुभयो ।‘जनगणनामा जस्तो घरघर पुगेर मतदाता शिक्षा दिन सम्भव हुँदैन । टोल विकास संस्थाहरुसँग समन्वय गरेर टोलटोलमा पुगेर मतदाता शिक्षा दिने तयारी छ’, उहाँले भन्नुभयो । निरक्षरहरु मतदाता बढी भएका ठाउँलाई प्राथमिकतामा राखेर अभिमुखीकरण गर्ने उहाँले बताउनुभयो ।
यस्तै, राक्सिराङ गाउँपालिकाको पालिकास्तरीय मतदाता शिक्षा समितिको बैठक मंगलबार बसेको छ । बैठकले वडा सचिवहरुलाई जिम्मेवारी दिएर मतदाता शिक्षा साम्रगी ढुवानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । वडाहरुलाई शुक्रबारबाट मतदाता शिक्षा अभिमुखीकरण गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।
भीमफेदी गाउँपालिकाले पनि मतदाता शिक्षा अभिमुखीकरणका लागि सोमबार पालिकास्तरीय मतदाता शिक्षा समिति गठन गरेको छ । पालिकास्तरीय समिति गठन भइसकेपछि वडा सचिवहरुलाई भेला गराएर मतदाता शिक्षा सामग्री पठाइएको र बिहीबारबाट अभिमुखीकरण सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले जानकारी दिनुभयो । यस्तै, मनहरी गाउँपालिकाले पनि मतदाता शिक्षा अभिमुखीकरणका लागि तयारी पूरा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।