हेटौंडाः प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने दिन मंसिर ४ गते आउन अब तीन साता मात्रै बाँकी छ । गणतन्त्र स्थापना गरेर निर्वाचित संविधानसभाबाट नयाँ संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि निर्वाचन हुन लागिरहेको छ । पहिलो कार्यकाल पूरा भइसक्दा आम नागरिकले सन्तोष मान्नुपर्ने गरी प्रतिनिधि सभा र प्रदेश सभाले काम गर्न सकेन । जनताले आफ्नो मतको सदुपयोग भएको महसुस गर्न नपाएकै कारण विशेषगरी प्रमुख राजनीतिक दल र ती दलमा आवद्ध नेता, कार्यकर्ताप्रति नकारात्मक दृष्टिकोण राखिरहेका छन् ।

अझ पछिल्लो समय स्वतन्त्र उम्मेदवारको हुटहुटीले पुराना दललाई झनै चुनौति थपिएको छ । एकातर्फ जनता निराश छन्, अर्कोतिर स्वतन्त्रको हल्लाले पुराना दल र पुराना नेतालाई जनताको मत पाउन कठिन हुने देखिएको छ । यता पुराना दल र नेताले केही नगरेका बेला केही स्वतन्त्रका कुरा पनि पत्याइहाल्ने अवस्थामा मतदाता छैनन् । यतिबेला मतदाताले धेरै अपेक्षा गर्नु हुन्न । दलका अविश्वसनीय आश्वासन भन्दा विश्वसनीय यथार्थ कुरा सुन्ने चाहनामा छन् मतदाता । मतदातालाई वास्तविक कुरा बताएर मत माग्ने आँट उम्मेदवारको छैन । उनीहरु जनताको अपेक्षा आजको भोलि नै पूरा गरिदिने झैं गरी प्रतिवद्धता जनाउँदै हिँडेका छन् ।

प्रजातान्त्रिक राज्य व्यवस्था सञ्चालनमा निर्वाचन एउटा नियमित र आधारभूत प्रक्रियाको रुपमा बुझेर मतदाताले धेरै अपेक्षा नगरी यो प्रक्रियालाई नै कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनु उपयुक्त हुन्छ । मंसिर ४ गते मतदान गरेर हामी हिजोको अवस्थाबाट पूर्णरुपमा सुधारको बाटोमा हिँड्न सक्दैनौं । तर, नराम्राको भीडबाट केही राम्रालाई केलाएर प्रतिनिधि सभा र प्रदेश सभामा पठाउन सक्यौं भने सुधारको प्रयास हुन सक्छ । हिजोको भन्दा आज केही सकारात्मक सुधार सम्भव भयो भने पनि पर्याप्त हुनेछ ।

निर्वाचनमा मतदाताको शक्तिकै कारण आज शक्तिशाली शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरु त्रसित छन् । हिजो राम्रो काम सकेका भए आज उनीहरु यत्ति हतासमा हुने थिएनन् । जनताको मतकै कारण देउवा, ओली र प्रचण्डका पक्षधरहरु जनमत आफ्नो पक्षमा पार्न यो तीन साता मरिमेट्ने छन् । मुलुकलाई नै एउटा नयाँ संरचनामा रुपान्तरण गरेपछि दोस्रो पटक आम निर्वाचन हुँदै गर्दा धेरै उपलब्धीको अपेक्षा राख्नु मतदाताको पनि गल्ती हुनेछ । राजनीतिक नेतृत्वको अकर्मण्यता, अदूरदर्शिता र अक्षमता देख्दा निराश हुनु, तनावको स्थिति सिर्जना हुनु स्वभाविक पनि हो । आजको उत्तरआधुनिक समयमा ५ वर्षको समयमा गर्न सकिने प्रसस्त कामहरु थिए । आशलाग्दा प्रयत्न भएनन् । त्यसकारण पनि निराशा जाग्नु स्वभाविक हो ।

अब निराश हुनुभन्दा कम अपेक्षा राखेर ससाना उपलब्धीमा आशावादी हुँदै अघि बढ्ने र निर्वाचनलाई सदुपयोग गर्नेतर्फ मतदाता सचेत हुनुपर्छ । उम्मेदवारका लोभलाग्दा तर कार्यान्वयन नहुने आश्वासनलाई बेवास्ता गर्दै आफ्नो समुदायको प्राथमिक योजनाका बारेमा उम्मेदवारलाई जानकारी गराउन मतदाता कठोर हुनुपर्छ । आफ्नो घर आँगन, खेत–बारी, गोठ–जुठ्यानसम्म आइपुगेका उम्मेदवारको विवरण संकलन गरेर मतदाताले सुरक्षित राख्नुपर्छ । निर्वाचन सकिएपछि जित्नेलाई आफ्ना प्राथमिकताबारे पुनः स्मरण गराउने र हार्नेहरुलाई पनि आफ्नो प्राथमिकताको विषयमा सरकारलाई झक्झक्याउन आग्रह गरिरहन मतदाता सचेत हुनुपर्छ ।

अहिले निर्वाचनमा जितेर गाउँ नफर्कने नेता जत्तिकै दोषी मतदान गरेपछि चुपचाप बस्ने मतदाता पनि हो । निर्वाचनपछि पनि राजनीतिक दल र तिनका नेता, कार्यकर्तालाई प्रश्न गर्न मतदाताले डर मान्नु भएन । राजनीतिक दल र तिनका नेता, कार्यकर्तालाई आफ्नो प्राथमिकताका विषयमा मतदाताले निरन्तर झक्झक्याउनु पर्छ । प्रजातान्त्रिक शासन व्यवस्थामा दलीय व्यवस्थाको विकल्प छैन । दलीय व्यवस्थालाई सुधार गर्ने एउटा महत्वपूर्ण अवसर नै निर्वाचन हो । निर्वाचनमा हरेक मतदाताले आफ्नो मतलाई विवेकपूर्ण तरिकाबाट प्रयोग गरी उपलब्ध उम्मेदवार र दल मध्ये राम्रो उम्मेदवार र दललाई छान्न मतदाता जिम्मेवार हुनु पर्छ ।