आज छठ पर्वको मुख्य दिन हो । तराई, मधेश केन्द्रित छठ पर्व अहिले सर्वत्र लोकप्रिय बनिरहेको छ । विशेषगरी नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दू समुदायले मनाउने छठ पर्व अहिले नेपालका सबैजसो भागमा मनाउन थालिएको छ । छठलाई कतिपय मुस्लिम समुदायका व्यक्तिहरुले पनि मनाउने गरेका छन् । दशैँ, तिहारजस्तै नेपालीहरुको साझा पर्वका रुपमा सबैतिर छठ मनाउने क्रम बढ्दै गएको छ । चार दिनसम्म मनाइने छठ पर्व तिहारको भाइटीकाको दुई दिनपछि अर्थात् कात्तिक शुक्ल चतुर्दशीदेखि सुरु भई कात्तिक शुक्ल सप्तमीका दिन समाप्त हुन्छ । वैदिक सनातन धर्मका सबैजसो पर्व अनि शक्तिहरु प्रकृति अर्थात् पृथ्वीको वरिपरि घुमेका हुन्छन्, जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानिक रहेका छन् । छठ पर्व पनि सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि ऊर्जाको मुख्य स्रोत मानिने सूर्यसँगको मानवको सहअस्तित्वलाई छठले उजागर गरेको छ ।
छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीलाई मानिन्छ । छठ पर्वमा सूर्य पूजाको महाअनुष्ठानका लागि हिन्दू धर्मावलम्बीहरु विभिन्न जलाशयका किनारमा सरसफाई गर्दै रंगीचंगी बनाउने गर्दछन् । छठको अन्तिम दुई दिन विभिन्न नदी, खोला, पोखरी, तलाउ छेउमा सजावट गरी ब्रतालुले जलमा उभिएर कार्तिक शुक्ल षष्ठीको दिन अस्ताइरहेको र सप्तमीको बिहान उदाइरहेको प्रकृतिको संरक्षणकर्ता सूर्यदेवलाई अर्घ दिएर समापन गरिने प्रचलन छ । षष्ठी तिथिका दिन मनाइने भएकाले यस पर्वको नाम अपभ्रंसित हुँदै छठी, छठ भएको विश्वास छ । छठी (षष्ठी) मातालाई पुकारेर सूर्यको पूजा आराधना गरिने छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
छठको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि गरिन्छ । आफ्नो शरीर शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ । पहिलो दिन छठका ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ खान्छन् । छठको दोस्रो दिन दिनभर उपवास बसेर राति ‘खीर’ बनाई भगवानलाई चढाएर ब्रतालुहरु खाने गरिन्छ । अरबा चामलबाट बनेको खिर खाने विधिलाई ‘खरना’ भनिन्छ । छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । जलाशय किनारमा विशेष सजावट गरेर ब्रतालुहरु जम्मा भई सूर्य भगवानको पूजा आराधनासहित अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । यस दिन गहुँ र चामलको पिठोबाट विभिन्न प्रकारका गुलिया खानेकुरा बनाइन्छ । ठूलो ढक्कीमा विभिन्न सामग्री राखेर परिवारका सदस्यहरु जलाशयमा जाने गर्दछन् । ब्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । छठको अन्तिम दिन बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।
पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । समावेशी संस्कारले जातीय र भौगोलिक दूरी घट्दै गएका कारण यो पर्व अहिले सबै नेपालीको पर्वका रुपमा विकसित हुँदै गएको छ । छठ पर्वमा अहिले हिमाल, पहाड र उपत्यकाबासीले पनि हर्ष र उमंगका साथ सहभागिता जनाउन थालेका छन् । यो पर्वले मधेशी र पहाडीबीचको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सौहार्दपूर्ण सम्बन्ध पनि विकसित गर्दै लगेको छ । पछिल्लो समय नेपालीहरुले मुख्य चाडपर्वको शुभकामना व्यक्त गर्दा दशैँ, तिहारसँगै छठ पर्व पनि जोड्ने गर्दछन् । छठ पर्व सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोगी बनोस् । छठको अवसरमा हाम्रा सहकर्मी, पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहयोगी एवम् सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।