हेटौंडाको राप्तीतटमा बनाइएको छठ घाट जाने प्रवेशद्वार ।

हेटौंडाः चार दिनसम्म मनाइने छठ पर्वको आज आइतबार मुख्यदिन । सूर्य भगवानको उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । तराई मधेशको सबैभन्दा ठूलो पर्व छठ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

छठको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । पोखरी, तलाउ, नदी, कुवालगायतमा तयार पारिएको छठ घाटमा ब्रतालुहरु जम्मा भई सूर्य भगवानको पूजा आराधनासहित अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । मकवानपुर जिल्लामा हेटौंडाको राप्तीतटमा अस्ताउँदो सूर्यलाई अर्घ दिन आकर्षक छठ घाट तयार पारिएको छ । सयौंको संख्यामा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिन राप्तीतटमा सहभागी हुनेछन् भने छठ पर्व अवलोकनका लागि हजारौं सर्वसाधारण राप्ती तटमा पुग्नेछन् ।

छठको अन्तिम दिन कार्तिक शुक्ल सप्तमीको बिहान अर्थात् भोलि सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ । बिहानीको अर्घ दिइसकेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्, जसलाई ‘पारन’ भनिन्छ ।

यसअघि छठ पर्वको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गरिएको थियो । आफ्नो शरीर शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ । पहिलो दिन छठका ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ खान्छन् । छठको पहिलो दिन चतुर्थी तिथिबाट ब्रतालुहरुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी ब्रत सुरु गर्दछन् ।

छठको दोस्रो दिन दिनभर उपवास रही रातिमा ‘खीर’ बनाई भगवानलाई चढाएर ब्रतालुहरु खिर खाने परम्परा छ । अरबा चामलबाट बनेको खिर खाने विधिलाई ‘खरना’ भनिन्छ । छठको दोस्रो दिन पञ्चमी तिथिका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरुले दिनभर निर्जला व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खिर अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् ।

छठको मुख्य दिन गहुँ र चामलको पिठोबाट विभिन्न प्रकारका गुलिया खानेकुरा बनाइन्छ । यसै दिन अन्नबाहेक फलफूल, ठेकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखेर परिवारका सदस्यहरु जलाशयमा जाने गर्दछन् । ब्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।

छठ पर्वमा प्रायः महिलाले ब्रत बस्ने भए पनि पुरुषले पनि उनीहरुलाई सहयोग गर्नुपर्ने भएकाले सँगै ब्रत बस्ने गर्दछन् । छठको मुख्य दिन प्रायः पुरुषहरुले पूजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन् । छठ पर्वमा सूर्यको उपासना गर्नाले सन्तान, निरोगिता, सुख, समृद्धि प्राप्ति र चर्मरोग निको हुने जनविश्वास छ । खासगरी मिथिला क्षेत्रमा लोकप्रिय छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि मनाउने गरिएको छ ।