हेटौंडाः निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका लागि आज बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन सुरु गरेको छ । आयोगले प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम बिहीबारदेखि सुरु गरेको जनाएको छ ।

अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने उल्लेख छ। यस्ता मतदाताले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने छैनन्। अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउने व्यवस्था छ। सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ अनुसार अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन आयोगलाई विभिन्न समयमा आदेश दिएको थियो ।

सो ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा/कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था छ । आयोगको निर्वाचनसम्बन्धी कार्यविधिअनुसार असोज ८ देखि २६ सम्म अस्थायी मतदात नामावलीमा नाम समावेश गर्न प्रदेश/जिल्ला निर्वाचन अधिकारीको सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनुपर्ने छ । कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने जनाएको छ ।

यस्तै, कात्तिक ४ गते प्राप्त निवेदनउपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने, दाबी विरोधको निवेदनउपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ।