लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोगको संक्रमण चिन्ताजनक बन्दै गएको छ । देशव्यापी रुपमा संक्रमण बढ्दै गएको डेँगु रोगले महामारीको रुप लिने सम्भावना देखिएको छ । बढ्दै गएको डेँगु रोगको संक्रमणले कोभिड संक्रमणको चिन्तालाई ओझेलमा पारेको छ । करिब २ महिनादेखि देशव्यापी डेँगु संक्रमण फैलँदै गएको छ । विगतका वर्षहरुमा तराईका केही शहरहरुमा सामान्य रुपमा देखिने डेँगु यसवर्ष देशव्यापी बनेको हो । डेँगु नियन्त्रणमा आउनुभन्दा झन् देशव्यापी बनेका कारण यसको नियन्त्रण निस्प्रभावी बनिरहेको छ । डेँगु नियन्त्रणका लागि तीनै तहको सरकारबीच उचित समन्वय आवश्यक भए पनि त्यसो हुन सकिरहेको छैन । अहिले राजनीतिक नेतृत्वको ध्यान आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित भएका कारण डेँगु नियन्त्रणका सहकार्य र सरकारलाई उचित दवाव पुगिरहेको छैन ।

डेँगुको संक्रमण बागमती प्रदेशको राजधानी हेटौंडा तथा संघीय राजधानी काठमाडौंमा व्यापक बन्दै गएको छ । केही सातादेखि डेँगु संक्रमण व्यापक भएको हेटौंडामा गत बिहीबार एकै दिन २ सय ६४ जनाको डेँगु परीक्षण गरिएको थियो । यो संख्या हेटौंडा अस्पतालमा गरिएको परीक्षणमात्र हो । हेटौंडाका अन्य निजी अस्पतालमा गरिएको डेँगु परीक्षणको यकिन तथ्यांक छैन । विगत केही दिनदेखि हेटौंडा अस्पतालमा डेँगु परीक्षण किटको अभाव भए पनि परीक्षण प्रभावित बन्दै आएकोमा बुधबार उपमहानगरपालिकाले एक हजार एक सय ५० थान परीक्षण किट उपलब्ध गराएपछि डेँगु परीक्षणलाई तिब्रता दिइएको छ । बिहीबार हेटौंडा अस्पतालमा २ सय ६४ जनाको डेँगु परीक्षण गरिएकोमा ३७ जनामा संक्रमण पुुष्टि भएको थियो । यस्तै, शुक्रबार हेटौंडा अस्पतालमा १ सय १४ जनाको परीक्षण गर्दा २२ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । गत साउनदेखि हालसम्म ९ सय ८ जनामा डेँगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ ।

सन् २००६ मा पहिलो पटक डेँगु संक्रमण भेटिएको नेपालमा त्यसपछि प्रत्येक वर्ष संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण डेँगु रोग ओझेलमा परेको थियो । यस वर्ष भने कोभिड निष्प्रभावी बन्दै जाँदा डेँगुको प्रभाव बढ्दै गएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेँगुको हालसम्म विशेष उपचार विधि पत्ता लागेको छैन । डेँगु भाइरस संक्रमित एजिप्टाई लामखुट्टे नियन्त्रणबाट नै डेँगु संक्रमण कम गर्न सकिन्छ । डेँगुको भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी ४ प्रकारका हुन्छन् । डेँगु रोग लाग्दा एक्कासी ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्वारबाट रगत आउनेजस्ता लक्षणहरु देखा पर्छन् । डेँगु संक्रमण भएपछि मानिस कमजोर बन्दै जाने र रगतमा प्लेटलेट्सको संख्या निकै कम हुने भएकाले डेँगु संक्रमित व्यक्तिलाई स्वास्थ्य संस्थामै उपचार गराउनु उचित हुने चिकित्सकहरुको भनाई छ ।

देशव्यापीरुपमा डेँगु संक्रमण व्यापक बन्नुले डेँगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नु आवश्यक देखिएको छ । व्यापक बन्दै गएको डेँगु रोगको समयमै नियन्त्रण गर्न नसकिएमा स्थिति भयावह बन्न सक्नेतर्फ सबै सचेत बन्नुपर्छ । पानी पर्ने क्रम नरोकिएका कारण यसको संक्रमण तत्काल कम हुने सम्भावना देखिँदैन । डेँगु संक्रमण व्यापक बन्दै गएपछि पछिल्ला केही दिनदेखि आम सर्वसाधारण तथा सरोकारवाला निकायले सचेतनामूलक गतिविधि सञ्चालन गर्न थालेको भए पनि आवश्यक समन्वय र प्रभावकारी योजनाबिना औपचारिकता पूरा गर्ने यस्ता गतिविधिले डेँगु नियन्त्रण हुने विश्वास गर्न सकिँदैन । चिन्ताजनक बन्दै गएको डेँगु रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी कदम चाल्नु आवश्यक छ ।