सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा ।

हेटौंडाः किरात देवास राई उत्थान समाज नेपालको ५ औं राष्ट्रिय सम्मेलन शनिबारदेखि हेटौंडामा सुरु भएको छ । “आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गरौं, जातीय उत्थानमा सहभागी बनौ” भन्ने नारासहित सुरु भएको सम्मेलनमा ७ जिल्लाका राईहरुको उपस्थिति रहेको छ ।

किरात देवास राई उत्थान समाज नेपाल केन्द्रिय कार्य समितिको आयोजना तथा मकवानपुर जिल्ला कार्यसमितिको सहयोगमा शनिबारदेखि सुरु भएको सम्मेलन आइतबारसम्म हुनेछ । पहिलो दिन उद्घाटन समारोह भएको थियो भने आज आइतबार केन्द्रिय कार्यसमिति समेत चयन गरिनेछ । किरात देवास राई उत्थान समाज नेपालको अध्यक्ष अस्मान राईको सभाध्यक्ष तथा बागमती प्रदेशका भौतिक पुर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन भएको थियो । सोही अवसरमा बकैया गाउँपालिकाका डाक्टर टिकाराम राई, बकैयाकै सब ईन्जिनियर सुमन राई, राप्ति नगरपालिका चितवनकी ईन्जिनियर पुजा राई, राई गाउँका डाक्टर आशिष राईलाई सम्मान पत्रले सम्मानित गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले विभिन्न जातजातिको लागि भाषा, भेषभुषा, कला र संस्कृती सम्पत्ति भएको दाबी गर्नुभयो । जसलाई संरक्षण तथा संस्थागत गरिनुपर्ने उहाँको भनाई छ । बागमती प्रदेश सरकारले भाषा आयोग गठन गरिसकेको बताउनुहुँदै भाषा तथा लिपीको विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आदिवासी जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक सामुदायको हितका लागि तीन तहको सरकारले विशेष योजना ल्याई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप बिष्टले ब्राह्मण र ठकुरीले अन्य जातिलाई पछाडि पारेको दावी गर्नुभयो । ६१ वटा जनजातिको भाषाबाट ५९ वटा भाषामा झारेको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो । अहिले राई भित्र मात्र देवास राई सहितको २९ वटा भाषा बोल्ने जनजाति रहेको पाइएको छ । जसमा नेपाल भाषा आयोगले जनजातिहरुको भाषालाई लुकाइरहेको राई सामुदायहरुको आरोप छ । कार्यक्रममा झाँकीसहित प्रभातफेरिको आयोजना गर्दै आफ्ना कला र संस्कृति झल्किने गरी नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा किरातका केन्द्रिय महासचिव जनक राई, संस्थापक उपाध्यक्ष ईन्द्र बहादुर राई, केन्द्रिय सल्हाकार प्रेम राई र पूर्णबहादुर राई लगायतको उपस्थिति थियो ।