तस्बिरः गुगल ।

हेटौंडाः नेपाली महिलाहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हर्षोल्लासका साथ हरितालिका तीज पर्व मनाइन्छ ।

नेपाली हिन्दू महिलाहरुको विषेश पर्व तीजको मुख्य दिन आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरी हरितालिका मनाइन्छ । परापूर्व कालमा हिमालय पुत्री पार्वतीले यसै दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । महादेवलाई पतिको रुपमा प्राप्त गर्ने पार्वतीको इच्छा विपरीत उनको विवाह भगवान विष्णुसँग गरिदिन खोजेपछि सखीहरुको सल्लाहमा उनलाई लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख गरिएको छ । सखीहरुले लुकाएकै ठाउँमा पार्वतीले व्रत बसी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजमा व्रत बस्ने प्रचलन सुरु भएको धार्मिक मान्यता छ ।

हरितालिका तीजको दिन काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरुमा श्रद्धालुको भिड लाग्ने गर्दछ । प्रायःजसो व्रत बसेका महिलाहरु देवादिदेव महादेवको पूजा, आराधना तथा दर्शनका लागि शिव मन्दिरमा जाने गर्दछन् । मन्दिर परिसरमा भेला भएका महिलाले नाचगान गरेर रमाइलो गर्दछन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर, निराहार व्रत नै बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरुको भनाई छ । निराहार, जलाहार र फलाहार गरी तीन प्रकारका व्रत हुने भएकाले निराहार बस्न नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रका जानकारहरु बताउँछन् । आत्माको रक्षा गरेरमात्र व्रत गर्नु भन्ने धर्मशास्त्रीय मान्यता रहेको उनीहरुको भनाई छ ।

शास्त्रीयरूपमा महिला, पुरुष दुबैले हरितालिका तीजको व्रत बस्न सकिने भए तीजमा अधिकांश महिलाहरुमात्र व्रत बस्ने गरेका छन् । व्रत बस्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यता रहेको पाइन्छ । भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर सुरु हुने तीज पर्व ४ दिनसम्म मनाइन्छ । तीजमा व्रत बस्न सहज होस् भन्ने उद्देश्यले अघिल्लो दिन दर खाने परम्परा रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजको अवसरमा भाद्र शुक्ल तृतीयाका दिन महिलालाई सार्वजनिक विदा दिने गरिएको छ ।