तस्बिर गुगल

हेटौंडाः काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा काङ्ग्रेस पहिलोे पार्टी बन्ने दाबी गर्नुभएको छ । आगामी निर्वाचनमा गठबन्धन हुने भएकाले काङ्ग्रेस पहिलो पार्टी बन्ने सभापति लामाले बताउनुभयो । सभापति लामाले संविधानको रक्षाका लागि भएपनि अहिले गठबन्धनको आवश्यकता रहेको बताउनुभयो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर जिल्लाबाट काङ्ग्रेसको तर्फबाट प्रदेश सभा सदस्यमा समानुपातिकसहित ४ सिट र प्रतिनिधि सभामा समानुपातिकसहित दुई जनाको उम्मदेवारी रहने उहाँले बताउनुभयो । उहाँले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा गठबन्धन दलले उम्मेदवार छनौट गर्दा महिलालाई प्राथमिकता दिन सकारात्मक रहेको बताउनुभयो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा महिला उम्मेदवार कम प्राथमिकतामा परेकोले प्रदेश र प्रतिनिधि सभा निर्वाचन यस्तो नहुने उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनमा स्थानीय निर्वाचनमा जस्तै गठबन्धनलाई कायम गरेर गठबन्धनको उम्मेदवारलाई जिताउने बताउनुभयो ।

काङ्ग्रेसलाई जिताउन अहिले “जनताको साथमा काङ्ग्रेस” अभियान लाई तीव्र पारेको बताउनुहुँदै सभापति लामाले आगामी निर्वाचनमा पनि काङ्ग्रेस पहिलो पार्टी बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । सभापति लामाले अहिले देशव्यापी रुपमा काङ्ग्रेसले पहिलो चरण अन्तर्गत सञ्चालन गरेको “जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत काङ्ग्रेस मकवानपुरले पनि अभियान सञ्चालन गरिरहेको बताउनुभयो । अभियानमा नेपाली काङ्ग्रेस सरकारले गरेको विकासका कुरा र जनताको गुनासो सुन्ने काम गरिरहेको सभापति लामाले बताउनुभयो ।

अभियान अन्तर्गत आइतबार जिल्ला पार्टी कार्यालयमा जिल्लाका १ सय २ वटै वडा समितिले चुनावी अभियानलाई सफल बनाउन टोल समिति भेला गरी आवश्यक सुझाव तथा निर्वाचन रणनीति तयार पारेको छ । यस्तै भदौ १५ गते बुधबार जिल्लाका १० वटै स्थानीय तहमा भेला गर्ने, भदौ १६ गते प्रदेश सभा क्षेत्रीय कार्यसमितिको चारै क्षेत्रमा समाजवादी चिन्तक प्रदीप गिरीको १३ औं पूण्यतिथिमा शोक सभा गर्ने भएको छ । भदौ १८ गते प्रतिनिधि सभा क्षेत्र कार्यसमितिले चुनावी अभियानलाई सार्थक पार्न आवश्यक सुझाव र निर्वाचन रणनीति तयार पार्ने, २० गते पार्टीका भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुलाई चुनावी अभियान सम्बन्धी छलफल र प्रशिक्षण दिने भएको छ ।

भदौ २१, २२ रर २३ गते जिल्लाका विभिन्न अन्तरक्रिया तथा भेलाबाट प्राप्त भएका सुझाव तथा निर्वाचन रणनीति संकलन गर्ने भएको छ । यस्तै २४ गते “जनताको साथमा काङ्ग्रेस” अभियानको विभिन्न वडा तहदेखि प्रतिनिधि सभा तथा क्षेत्रीय कार्यसमितिबाट प्राप्त सुझाव तथा निर्वाचन रणनीति सम्बन्धी अन्तरक्रिया गरी पहिलो चरणको अभियान समापन गर्ने कार्यतालिका रहेको जनाइएको छ । पहिलो चरणको अभियान सकिएपछि केन्द्रीय तहले कुनै निर्णय र पत्र पठाएमा त्यही अनुसार कार्यक्रम सञ्चालन गरिने सभापति लामाले बताउनुभयो ।