हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका ६ वटा संस्थागत विद्यालयले तोकिएको म्याद सकिए पनि अझै विद्यार्थी विवरण बुझाएका छैनन् । हेटौंडा उपमहानगरपालिकामा रहेका ४७ वटा संस्थागत विद्यालय मध्ये ६ वटा विद्यालयले विद्यार्थी विवरण नबुझाएका हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले बताउनुभयो ।
पालिकाका ७६ सामुदायिक तथा ४७ संस्थागत विद्यालय गरी १ सय २३ वटा विद्यालय मध्ये १ सय ११ वटा विद्यालय बुझाइसकेका रिमालले बताउनुभयो । ६ वटा विद्यालयले विद्यार्थी विवरण बुझाएका छैनन् भने ६ वटा विद्यालयले विद्यार्थी विवरणमा आफ्नो विद्यालय दर्ता नगरेकाले विद्यार्थी विवरण नआएको प्रमुख रिमालले बताउनुभयो । विद्यालयको लापरवाहीका कारण विद्यार्थी विवरण आउन नसकेको उहाँले बताउनुभयो ।
यस्तै, पालिकाका सबै ७६ वटा विद्यालयले विद्यार्थी विवरण बुझाइसकेका छन् । हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ मा १४ हजार ९ सय ६८ जना छात्रा र १४ हजार ९ सय ५९ जना छात्र गरी २९ हजार २ सय २७ जना भर्ना भएको महाशाखाको तथ्याङ्क छ । यो वर्षको विद्यार्थी विवरण बुझाएका सामुदायिक विद्यालयको विवरण हेर्दा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । १ हजार ४३ जना छात्रा र १ हजार ५ सय ३६ जना छात्रा गरी २ हजार ५ सय ७९ जना विद्यार्थीले आधुनिक राष्ट्रिय माविमा भर्ना भएका छन् ।
पालिकाका ३६ वटा संस्थागत विद्यालयले विद्यार्थी विवरण बुझाएका छन् । हेटौंडा उपमहानगरपालिकाका संस्थागत विद्यालयमा शैक्षिक सत्र २०७९ मा ८ हजार २ सय ३३ जना छात्रा र ११ हजार १ सय ५ जना छात्र गरी १९ हजार ३ सय ३८ जना भर्ना भएको महाशाखाको तथ्याङ्क छ । विद्यार्थी विवरण बुझाईसकेका ३६ वटा संस्थागत विद्यालयको विवरण हेर्दा हेटौंडा १० स्थित सोलिड्यारिटि इन्टरनेशनल एकेडेमीमा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । ६ सय ४० जना छात्रा र ९ सय १२ जना छात्रसहित १ हजार ५ सय ५२ जना विद्यार्थी एकेडेमीमा अध्ययनरत छन् ।