अजिता ओझा

साहित्यमा म विशेषगरी मुक्तक लेख्छु । साहित्य लेखनको यात्रामा परिवारको साहित्यिक वातावरण महत्वपूर्ण रह्यो । म, मेरो दिदीहरु अनि मेरो भाइ पनि साहित्यिक क्षेत्रमा कलम चलाउछौं । सानो छँदा स्कूलको कार्यक्रममा कविता वाचन गर्नका लागि मेरो ठुली दिदीले कविता लेखिदिनु हुन्थ्यो । त्यतिबेला रहर लाग्थ्यो लेख्न आउँदैनथ्यो । अनि विस्तारै दिदीबाट नै केहिकेही सिक्दै गएपछि आफैँले लेख्न थालेँ । उत्कृष्ट त हुन्थेन तर पनि लेख्थेँ कहिलेकाहीँ ।

एकदिन मेरो कविता सुनेर मेरो एकजना दाइले भन्नुभयो, “तेरो शब्द चयन गर्ने तरिका राम्रो लाग्यो त गजल लेख राम्रो हुन्छ ।” त्यतिबेला मलाई गजलको बारे ज्ञान थिएन अनि दाइलाई त्यस्को नियम र लेख्ने तरिका बारे सोधेँ । दाइले युट्युवमा अच्युत घिमिरे दाजुले वाचन गर्नुभएको र अन्य गजलकारहरुले स्वयम् वाचन गर्नु भएको धेरै गजलहरु सुनाइदिनु भयो र गजल यसरी लेख्ने हो भनेर पनि सिकाइदिनु भयो । त्यसपछि मैले दुई–तीनवटा गजल लेखेको थे त्यति बेला मोबाइल खासै चलाइँदैनथ्यो अझै भनम् ईन्टरनेटको पहुँचमा थिइनँ । पछि ईन्टरनेट चलाउन थालेपछि युट्युवमा हेर्न थालियो अनि मुक्तक मनपर्न थाल्यो । चार लाइनमा सकिने, चोटिला, सुन्न नि मज्जा आउँथ्यो अनि मुक्तक लेखौंलेखौं लाग्यो अनि मुक्तक मै कलम चलाएँ ।

मेरी साइँली दिदी पनि राम्रो गजल, मुक्तक लेख्नुहुन्थ्यो । अनि मैले लेखिसकेपछि उहाँलाई देखाउथेँ र उहाँको प्रतिक्रिया पाएपछि थप हौसला मिल्थ्यो । मेरो मावलाको हजुरबुबा कवि हुनुहुन्छ । उहाँ छन्दमा कविता लेख्नुहुन्छ र मेरो भाइ पनि छन्दमा कविता लेख्छ । मलाई शार्दुलविक्रिडित छन्द एकदम मन पथ्र्यो अनि एकदिन मैले हजुरबुबासँग सिकाइ मागे शार्दुलविक्रिडित छन्द लेख्ने तरिका त्यसका नियमहरु अनि उहाँले मलाई सजिलैसँग सिकाइदिनु भयो र उदाहरणका लागि केही आफ्ना कविताहरु वाचन पनि गर्नुभयो ।

हजुरबुबाले भन्नुभएको र आदरणीय गुरु मनोज भण्डारीको युट्युवको भिडियो हेरेर दुइवटा जति कविता छन्दमा पनि लेखेको थिएँ । तर आफुलाई चाहिँ मुक्तक मनपर्ने भएर मुक्तक नै बढी लेखेँ । विभिन्न साहित्यिक विधामा लाग्नु भएको अग्रजहरुसँग सामाजिक सञ्जालमा जोडिएर उहाँहरुको रचना पढेपछि अझै धेरै कुराहरु सिक्ने अवसर मिल्यो । स्कुलमा कविता प्रतियोगितामा भाग लिएर छन्दमा लेखेको एउटा कविताले द्वितीय स्थान लिन सफल भयो त्यो मैले बुझ्ने बुझ्ने भैसकेपछिको पहिलो पुरस्कार थियो । त्यो बेला निर्णायकको भूमिकामा आदरणीय दिदी शान्ति प्रियवन्दना हुनुन्थ्यो । उहाँसँगको मेरो पहिलो भेट थियो त्यो । नतिजा सार्वजनिक भएपछि मलाई भेटेर शुभकामना दिनुभयो साथै झरना साहित्यिक परिवारको बारेमा पनि जानकारी दिनुभयो यो मेरो लागि अर्को प्रेरणाको स्रोत बन्न पुग्यो ।

म कवितामा भन्दा पनि मुक्तक मै बढि जोड दिन्थे । अलि समयपछि झरना साहित्यिक परिवार मकवानपुरको २७६ औं साहित्यिक शृङ्खला एवम् २८ औं मुक्तक साँझ–२०७८ का अवसरमा आयोजित माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगितामा भाग लिने अवसर मिल्यो । जसमा मुक्तकले सर्वोत्कृष्ट स्थान ओगट्यो । उक्त कार्यक्रममा अग्रज मुक्तककार रमेश पौडेल लगायत विभिन्न मुक्तककारहरुसँग भेट्ने अवसर मिल्यो । त्यो मेरा लागि अविस्मरणीय पल बन्न पुग्यो । साहित्य के हो भन्ने प्रश्नको जवाफ दिन सक्ने योग्यता अझै बनाइसकेको छुइन जस्तो लाग्छ । विभिन्न साहित्यिक विधामा लाग्नुभएको साहित्यकारहरुसँग जोडिन पाएको छु । त्यो मेरो जीवनको सबैभन्दा ठुलो उपहार हो ।