साहित्यलाई काल्पनिक अभिव्यक्तिको रुपमा बुझ्ने जमात ठूलो छ । साहित्यलाई समाजकै समीक्षा गर्ने रचनात्मक कार्यको रुपमा बुझ्न नसक्नु नेपाली समाजको कमजोरी हो । साहित्यलाई पछिल्लो समय विद्यालयका शिक्षकले केही चासो दिन थालेका छन् । शिक्षकको चासोले मात्रै साहित्यको श्रीवृद्धिमा उल्लेखनीय सुधार हुन्न । विद्यालय तहको शिक्षककै रुपमा साहित्य लेखनलाई प्रोत्साहित गर्नुहुने, आफैं सुन्दर रचना गर्दै आउनुभएका जनप्रिय माविका शिक्षक संप्रस पौडेलसँग नजसर्जक साहित्य चौतारीकी रचना भण्डारी र रियाज कार्कीले गर्नुभएको कुराकानीः
तपाई साहित्यप्रति कसरी आकर्षित हुनुभयो ?
पौडेलः मलाई सानैमा स्कुल पढ्दादेखि नै अभिभावकले कथा, कविता लगायतका बाल रचनाका विभिन्न पुस्तकहरु ल्याएर दिनुहुन्थ्यो । मैले त्यही किताबहरु पढ्ने र अरुका रचनाहरु सुनाउने गर्थेँ । साथै मेरो घरमा पनि मामाहरुले विभिन्न रचनाहरु लेख्ने र सुनाउने गर्नुहुन्थ्यो । यसरी घरको माहौलले पनि साहित्यप्रति आकर्षण बढ्दै गयो ।
तपाई पेशाले शिक्षक पनि हुनुहुन्छ, पछिल्लो समय साहित्यमा शिक्षकहरु अग्रसर देखिनुको कारण के हो ?
पौडेलः साहित्यमा शिक्षकहरु अग्रसर देखिनुको प्रमुख कारण शिक्षकको रचना सुनाउने ठाउँ छ । शिक्षकले जे आफुले लेख्छ त्यो कुरा भाइबहिनीहरुको माझमा सुनाउन सकिन्छ । यो एउटा शिक्षकका लागि प्रमुख अवसर हो । लामो समय विद्यार्थी भाइबहिनीसँग बिताउनुपर्ने भएकोले पाठ्यक्रमको कुरासँगै अतिरिक्त क्रियाकलापअन्तर्गत आफ्ना रचनाहरु सुनाउने अवसर पाउने भएकोले अरु पेशामा लागेका भन्दा शिक्षण पेशामा लागेकाहरु साहित्यप्रति बढी आकर्षित भएको पाइन्छ ।
साहित्यको अरु विधालाई छोडेर तपाईले हास्यव्यङ्ग्य नै किन रोज्नु भयो ?
पौडेलः नेपालमा हाल हास्यव्यङ्ग्य विधामा एकदमै कम व्यक्तिहरुले मात्रै कलम चलाइरहेका छन् । अझ महिलाको हकमा हेर्ने हो भने, हास्यव्यङ्ग्य लेखनमा लाग्नेको संख्या न्युन छ । मैले यसलार्ई रोज्नुको प्रमुख कारण चाहिँ धेरै मान्छेले रुचाउने, चासो लिने भएकोले हो । पछिल्लो समय आइरहेका टेलिसिरियल तथा फिल्महरुमा पनि हास्यव्यङ्ग्यलाई निकै जोडका साथ प्रस्तुत गरिरहेको पाइन्छ । यो विशेषगरी समयअनुसार मानिस तथा समाजकोे माग पनि हो ।
हास्यव्यङ्ग्का लागि मकवानपुर जिल्ला कत्तिको उर्वर छ ?
पौडेलः हास्यव्यङ्ग्यको क्षेत्रमा मकवानपुरमा उर्वरताको हिसाबले हेर्ने हो भने पहिलाको तुलनामा पछिल्लो समय व्यापक भएको छ । हाम्रो सिस्नुपानी नेपालमा संलग्न हुनेहरु र अन्य विभिन्न संस्थामा आबद्ध रहनुहुने साहित्यकारहरुले पनि यसलाई समय दिएर रचना गर्ने गरिरहनु भएको छ ।
तपाईको विद्यालयमा साहित्यिक गतिविधिहरु कत्तिको हुन्छ ?
पौडेलः हाम्रो विद्यालयमा साहित्यिक गतिविधिहरु अन्य विद्यालयको तुलनामा न्युन नै हुन्छ । तर हामीले पछिल्लो समय यसलाई बढाउने कोसिस गरिरहेका छौं । विद्यार्थी भाईबहिनीहरुलाई लेखन प्रशिक्षण दिइरहेका छौं र त्यसै अनुसार भाइबहिनीहरु लेख्दै पनि छन् ।
साहित्यमा सामाजिक सञ्जालको भूमिका कस्तो पाउनुभएको छ ?
पौडेलः सामाजिक सञ्जाल अहिलेको जल्दोबल्दो प्रयोगभित्र पर्दछ । विशेषगरी सामाजिक सञ्जालमा समाजका मुद्दाहरु उठ्ने हुनाले साहित्य लेखनमा धेरै योगदान पु¥याएको पाइन्छ । राजनीति, धर्म, संस्कृति, समाज, शिक्षा लगायत विविध विषय सामाजिक सञ्जालमा आउने हुनाले र साहित्य पनि त्यसकै आधारमा लेख्ने हुनाले यसले साहित्य लेखनमा ठूलो भूमिका खेल्दछ ।
तपाई संलग्न रहनुभएको साहित्यिक संस्थाले नेपाली साहित्यलाई अघि बढाउन तथा नवसर्जकहरुलाई अघि बढ्न कस्तो भूमिका खेलिरहेको छ ?
पौडेलः पछिल्लो समय हास्यव्यङ्ग्यमा नवसर्जकहरुको संलग्न एकदम कम रहेको छ । त्यसकारण सिस्नुपानी नेपाललगायत हामी सबैजना यसलाई बढाउनुपर्छ भनेर लागिरहेका छौं । सम्भवतः यो वर्षभित्र नै हामी कार्यशाला राख्नेछौं । यसका लागि नवपुस्ताहरुको हास्यव्यङ्ग्यलाई लिने र राष्ट्रियस्तरको कार्यशाला चलाइरहनुभएकाहरुसँग सल्लाह सुझाव लिने छौं ।
अहिलेको समयमा साहित्य लेखेर जीविकोपार्जन गर्न सकिएला त ?
पौडेलः यो जीविकोपार्जलाई बेग्लै राखेर हे¥यौं भने साहित्य एकदम ठिक छ । तर हामीले जीविकोपार्जन पनि साहित्य लेखेरै गर्छु भन्न चाहिँ धेरै गाह्रो कुरा हो । किनकी साहित्यमा तुरुन्तै लेखिहालौं र कमाइहालौं भन्ने अवस्था हुँदैन । त्यसकारण साहित्यलाई अतिरिक्त क्रियाकलापको रुपमा लिएर अगाडि बढ्नु राम्रो हुन्छ भन्न चाहान्छु ।
एकजना साहित्यकारका लागि पठन संस्कृतिले कस्तो महत्व राख्छ ?
पौडेलः पठन संस्कृति साहित्यकारलाई मात्र नभएर सबै पछिल्ला पुस्ताका लागि एकदम आवश्यकता रहेको छ । एउटा साहित्य लेख्नका लागि शुरुमा अरुका साहित्यहरु लगायत विविध पुस्तकहरु पढ्नु जरुरी छ । पढ्नका लागि वातावरण प्राथमिक कुरा हो ।
विद्यालयमा साहित्यिक वातावरण कत्तिको आवश्यकता छ ?
पौडेलः विशेषगरी विद्यालयमा भाषा अध्ययन अध्यापन गराइरहनुभएका शिक्षकहरुले यसमा धेरै जोड गर्नुपर्ने देखिन्छ । विभिन्न कार्यक्रम, सभा, गोष्ठी तथा प्रतियोगिताहरुमा विद्यार्थीहरुलाई सहभागी गराएर उनीहरुको तार्किक तथा प्रतियोगितात्मक क्षमता अभिवृद्धि गर्नुपर्दछ । विद्यार्थीहरुका लागि साहित्य धेरै आवश्यक रहेको छ । किनकी साहित्यमा लागेका विद्यार्थीहरु प्रायः कुलतमा फस्ने, दुव्र्यसनम फस्ने, लागुपदार्थ सेवन गर्ने जस्ता कुसंस्कारबाट टाढा रहन्छन् ।
नेपाली हास्यव्यङ्ग्यको हालको अवस्था कस्तो देख्नुभएको छ ?
पौडेलः नेपाली हास्यव्यङग्यमा पुरुषहरु हावी भएका छन् तर महिलाहरु कम छन् । समग्रमा भन्नुपर्दा नेपाली हास्यव्यङ्ग्य लेखनका कृतिहरु पर्याप्त छैन । अझै धेरै लेख्नुपर्ने देखिन्छ । जति धेरै बेथिति बढ्छ त्यति नै हास्यव्यङ्ग्य लेखन बढ्दै जान्छ । पछिल्लो समयमा कृतिहरु निस्किरहेका पनि छन् तर यतिले पर्याप्त हुँदैन र कृतिहरु आइरहनुपर्दछ ।