हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा शुक्रबारदेखि समाचारपत्र वितरणको सुरुवात गर्ने क्रममा ।

पछिल्लो समय समृद्ध समाज दैनिक विद्यालयका विद्यार्थीमाझ पुगेको छ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरेर पठन संस्कृतिको विकासमा समाचारपत्रको भूमिकाका विषयमा विद्यार्थीलाई अभिमुखीकरण गराउँदै नियमित समाचारपत्र उपलब्ध गराउने प्रयास भइरहेको छ ।

कक्षा ७ को एउटा कक्षामा ६० जना विद्यार्थीलाई सोध्दा ५ जना विद्यार्थीको घरमा पनि नियमित समाचारपत्र पढ्ने अवस्था छैन । समाचारपत्र पढ्नुपर्छ भन्ने सचेतता नै देखिँदैन । पठन संस्कृतिको विकास हुन नसक्नु, पढ्नु पर्छ भन्ने ध्यान नपुग्नु, पठन संस्कृतिको विकासको आवश्यकतालाई नबुझ्नु, पठन संस्कृतिको विकासका लागि प्रयत्न नहुनुले पढ्नु भनेको औपचारिक विद्यालय या विश्वविद्यालय तहको शिक्षा हासिल गर्नका लागि मात्रै हो भन्ने बुझाई छ ।

परिवारका सदस्य सबैले आआफ्नो स्तरअनुसार अध्ययन गर्ने पाठ्यसामग्रीको खोजी गरी नियमित पढ्ने बानी बसाल्ने हो भने विशेषगरी विद्यालय र विश्वविद्यालय तहका विद्यार्थीमा पढ्ने कार्य बोधको रुपमा नभई ज्ञान, सीप, दक्षताका लागि गरिने सामान्य प्रक्रियाको रुपमा स्थापित हुने थियो । विद्यार्थीसँगको अन्तरक्रियामा अर्को एउटा रोचक प्रसंग पनि उल्लेखनीय छ । जसरी समाचारपत्र असाध्यै नगन्य विद्यार्थीको घरमा पुगेको छ त्यसरी नै पाठ्यक्रमबाहेक अन्य शीर्षकका पुस्तक विद्यार्थीको घरमा उपलब्ध छैनन् । न समाचारपत्र, न पुस्तक पढ्ने सामग्री घरभित्र नभएपछि कसरी पठन संस्कृतिको विकास हुन्छ ?

पठन संस्कृतिको अर्को बाधक विद्यालय वा विश्वविद्यालय तहमा पढ्ने परिवारका सदस्यबाहेक अन्य सदस्यको दैनिकीको कुनै समय पढ्ने कामका लागि उपलब्ध छैन । पढ्ने काम भनेको विद्यालय र विश्वविद्यालय तहमा अध्ययनको क्रममा मात्रै हो । अन्य समयमा पढ्नै पर्दैन भन्ने भ्रमका कारण विशेषगरी परिवारको साना बाबुनानीमा पढ्नुको औचित्य नै नबुझ्ने अवस्था बन्दो रहेछ ।

पढ्नुपर्ने आवश्यकता र अहिले पढ्न रुचि नहुनुका कारणका विषयमा केही व्याख्या गरिसकेपछि अधिकांश विद्यार्थीले समाचारपत्र नियमित पढ्ने, पाठ्यक्रमबाहेकका पुस्तक पढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निबन्ध, कथा संग्रह, जीवनी, संस्मरण, कविता, गजल, मुक्तकजस्ता कृति अध्ययनले पठन संस्कृतिको विकास भई पाठ्यक्रममा आधारित पुस्तक सरल लाग्ने तथ्यलाई आत्मसात गर्न विद्यार्थीहरु लालायित भएको देखिएको छ ।

हामीले विशेषगरी ७ कक्षामा अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया गरेर समाचारपत्र पढ्नका लागि प्रेरित गर्ने प्रयास ग¥यौं । विद्यार्थी भाइबहिनीहरुले देखाएको उत्सुकता र जनाएको प्रतिवद्धताले हामीलाई ढिलै भए पनि खुसी दिलाएको छ । अहिले हामीले समृद्ध समाज दैनिक हेटौंडा उपमहानगरपालिकाका ७ वटा विद्यँलयमा नियमित उपलब्ध गराइरहेका छौं । समाचारपत्र पढ्न थालेपछि विद्यार्थीमा सकारात्मक परिवर्तन देखिएको शिक्षकहरुको प्रतिक्रिया छ । ७ कक्षाका विद्यार्थीमा पढ्ने बानीको विकास गर्न सक्यौं भने हामी चिन्तनशील विद्यार्थी पुस्ता तयार पार्न सक्छौं भन्ने विश्वास जागेको छ ।

पठन संस्कृतिको विकासका लागि यो प्रयत्नले महत्वपूर्ण उपलब्धी हासिल गर्ने आशाका साथ हामी यो अभियानको नियमित समीक्षा, टिप्पणी आन्तरिक र बाह्य दुबै रुपमा गर्नेछौं । पठन संस्कृतिको विकास गर्ने अभियानमा साथ दिनुहुने विद्यालय परिवारप्रति आभारी छौं । आशा छ अभिभावकहरुले पनि विद्यार्थीले नियमितरुपमा घरमा ल्याउने समृद्ध समाज दैनिक पढेर आफूलाई पनि सचेत नागरिकको समूहमा स्थापित गर्नुहुनेछ ।