आत्महत्या विश्वभर नै चुनौतीपूर्ण बनिरहेको छ । अधिकांश आत्महत्या गर्नेहरुले डिप्रेसनका कारण आत्महत्या गरेको पाइने गरेको छ । आर्थिक अभाव तथा नोक्सानी, प्रेममा असफलता, अपमान, दुव्र्यवहार तथा पीडा आदि आत्महत्याको मुख्य कारण बन्ने गरेका छन् । यस्तै चरम निराशा, उदासी, हिनताबोध तथा रिसका कारण पनि मानिसले आत्महत्या रोज्ने गरेका छन् । कुनै पनि मानिसले आफ्नो जीवन निरर्थक बनिरहेको, आशाको विकल्प बाँकी नरहेको र भविष्यमा जीवनप्रतिको आशा कमजोर देख्नेहरु आत्महत्याप्रति अग्रसर हुन्छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा र महिलाको तथ्यांकमा नेपाल तेस्रो स्थानमा पर्दछ । विश्वमा वर्षेनि ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ ।

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांक पाइन्छ । पछिल्लो एक वर्षको अवधिमा मकवानपुर जिल्लामा एक सय २५ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ७४ जना पुरुष, ३८ जना महिला, ५ जना बालक र ८ जना बालिका गरी एक सय २५ जनाले आत्महत्या गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । आत्महत्या गर्नेमध्ये ९० जनाले झुण्डिएर तथा ३२ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ८० जना पुरुष, ५० जना महिला, ५ जना बालक र ६ जना बालिका गरी एक सय ४१ जनाले आत्महत्या गरेका थिए । उक्त अवधिमा ९२ जनाले झुण्डिएर तथा ४८ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा एक सय ४५ जनाले आत्महत्या गर्दा ८५ जनाले झुण्डिएर तथा ६० जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा एक सय ५९ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७४÷०७५ मा एक सय १३ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७८÷०७९ सम्मको ५ वर्षको अवधिमा जिल्लामा ६ सय ८३ जनाले आत्महत्या गरेको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ । पछिल्ला वर्षहरुमा जिल्लामा आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दै गएकोले आत्महत्या थप डरलाग्दो बनिरहेको छ ।

आत्महत्या गर्ने मानिसको संख्या वर्षेनि बढ्दै गएकाले यसको न्यूनीकरण तथा रोकथामका लागि विशेष पहल गर्नु आवश्यक छ । हुन त आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण हुन्छ । कुनै व्यक्तिमा आत्महत्या गर्न सक्ने लक्षण देखिएमा उसलाई उचित परामर्श दिन सकेमा आत्महत्या रोकथाम गर्न सकिन्छ । तर, मानिसले कुन समयमा आत्महत्याको सोच बनाउँछ भनेर पत्ता लगाउन सजिलो छैन । मानिसको मस्तिष्कमा जतिबेला नकारात्मक सोचाइ उत्पन्न हुन्छ, त्यतिबेलै ऊ आत्महत्या गर्नेतर्फ अग्रसर हुने भएकाले आत्महत्याबारे सोचिरहेको समयमा उसलाई साथीभाइ वा आफन्तले अन्य काम, कुरामा भुलाउन सकेमा त्यो मानिसले आत्महत्याको निर्णय त्याग गर्न सक्छ । साथीभाइ, घरपरिवार तथा समाजमा आत्महत्याको नकारात्मक पक्षबारे चर्चा र बहस गरेर मानिसमा आत्मविश्वास बढाउन सकेमा डरलाग्दो बन्दै गएको आत्महत्या न्यूनीकरण गर्न सहज हुनेछ ।