हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा अनिवार्य विषयका प्रश्नपत्र निर्माण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आज आइतबार सम्पन्न भएको छ । परिमार्जित पाठ्यक्रम तथा मुल्यांकन पद्धतिमा आधारित रही कक्षा ४, ६, ७ र ९ को अनिवार्य विषयका प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी भएको हो ।
विषयगत प्रशिक्षकहरुको प्रत्यक्ष सहजीकरण रहेको उक्त कार्यक्रममा शिक्षकहरु रामसागर गुरागाई, टीका प्रसाद दाहाल, खेमराज लामिछाने, सुवास खनाल, सरोज लामिछाने, माधव गौतम, ज्योती न्यौपाने, भुपेन्द्र चौलागाईं र सङ्गिता कुमारी पुडासैनीले सहजीकरण गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिननाथ गौतमले पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु के कति हासिल भयो भनी मापन गर्ने प्रमुख आधार नै परीक्षा भएकोले प्रश्नपत्रको स्तरीयतामा विशेष ख्याल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
शिक्षक महासङ्घ हेटौंडा नगर कमिटीका सहअध्यक्ष हिमलाल आचार्यले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । समितिका अध्यक्ष सागर खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समितिका सचिव माधव खतिवडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे । गोष्ठीमा ४५ जना शिक्षकहरुको उपस्थिति रहेको थियो ।