प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएको छ । आगामी मंसिर ४ गतेका लागि सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन घोषणासँगै मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य स्थगित भइसकेको छ । देशको जनसंख्या वृद्धि भएसँगै प्रत्येक पछिल्लो निर्वाचनमा मतदाताको संख्या पनि वृद्धि हुँदै जान्छ । नेपालमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मतदान गर्ने अधिकार राख्दछन् । मतदान गर्नका लागि मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । मुलुकको शासन व्यवस्था हाँक्ने राजनीतिक दल तथा तिनका नेतृत्वले इमान्दारिपूर्वक नागरिकको हितमा काम गर्न नसक्दा निर्वाचनप्रति युवा मतदाताको आकर्षण कम हुँदै गएको अवस्थामा पछिल्लो समय निर्वाचनप्रति युवाको चासो र चिन्ता बढ्दै गएको छ । फलस्वरुप मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पनि उल्लेख्य वृद्धि भइरहेको छ ।

मकवानपुर जिल्लामा पनि स्थानीय तहको निर्वाचनपछि ८ हजार ६ सय ४३ मतदाता थपिएका छन् । निर्वाचन आयोगले असारबाट सुरु गरेको मतदाता नामावली संकलनको क्रममा जिल्लामा साउन १९ गतेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको थियो । उक्त समयमा मकवानपुर जिल्लामा ४ हजार १ सय २६ जना महिला र ४ हजार ५ सय १७ जना पुरुष गरी ८ हजार ६ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । उक्त अवधिमा एक हजार २ सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेका छन् । एक सय एक जनाले मतदाता नामावलीमा रहेको त्रुटी सच्याएका छन् भने मकवानपुरबाट बाहिरी जिल्लाहरुमा ३ सय ४३ जनाले मतदाता नामावली सारेका छन् । हाल जिल्लामा एक लाख ५६ हजार ६ सय ४९ जना पुरुष, एक लाख ५० हजार एक सय ६२ जना महिला र अन्य ५ जना गरी ३ लाख ६ हजार ८ सय १६ जनाको मतदाता नामावलीमा नाम रहेको छ ।

लोकतन्त्रमा जनता सार्वभौमसत्ता सम्पन्न मानिन्छ । यसकारण लोकतन्त्रमा जनमतको ठूलो महत्व हुन्छ । जनमतलाई परीक्षण गर्ने सर्वमान्य विधि भनेको आवधिक निर्वाचन हो । निर्वाचनमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरेर आफ्ना लागि उपयुक्त प्रतिनिधि छान्दछन् । मताधिकार आम नागरिकको सबैभन्दा ठूलोे अधिकार हो । जनमतकै आधारमा राज्यसत्ता कसको नेतृत्वमा हुने भन्ने निर्धारण गर्दछ । आफ्नो इच्छाअनुसार स्वतन्त्र भई उपयुक्त देखिएका उम्मेदवारलाई मतदान गर्नु मतदाताको कर्तव्य पनि हो । आफ्नो प्रतिनिधि आफैं चयन गर्ने मौकाको रुपमा रहेको निर्वाचनलाई सबै मतदाताले सदुपयोग गर्नुपर्छ । योग्य, इमान्दार, नागरिकको सुख, दुःखमा साथ दिने र सक्षम नेतृत्व चयन गर्नका लागि मतदाता सचेत भएर मतदान गरेमा राम्रो नेतृत्वले काम गर्ने मौकासमेत पाउँछ ।

संघीय शासन व्यवस्थाअनुसारको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको छ । अझै पनि देशले राजनीतिक स्थायित्व पाउन सकेको छैन । आगामी निर्वाचनपछि मुलुकलाई राजनीतिक स्थायित्व दिनसक्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सक्ने जनप्रतिनिधि चुनिनु आवश्यक छ । यसका लागि आम मतदाताको मताधिकारले ठूलो भूमिका निर्वाह गर्दछ । फेरि पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने र मताधिकारको प्रयोग गर्ने अवसर आएको छ । मतदाता सचेत र चनाखो भएमा असल नेतृत्वको चयन हुने भएकाले मतदानको समयमा मतदाताले धेरै कुरामा ध्यान दिएर योग्य नेतृत्व चयन गर्नुपर्छ ।