देशभर सडक सञ्जालको विकास र विस्तारसँगै यातायातका साधनको संख्या पनि तीव्ररुपमा बढिरहेको छ । अन्य वैकल्पिक यातायातको साधन सहज नहुँदा र सडक यातायातका साधन बढ्नु स्वभाविक भए पनि यातायातको साधन वृद्धि हुँदा सडकमा सवारी चाप बढ्दै गएको छ । अझ बढ्दो सवारी चापको अनुपातमा सडकको चौडाई वृद्धि र स्तरीकरण नहुँदा दुर्घटनाको दर पनि बढ्दै गएको छ । मुलुकभर सडक दुर्घटना चिन्ताजनकरुपमाा वृद्धि भइरहेको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण आम मानिसको यात्रा असुरक्षित बनिरहेको छ । देशको राजधानीसहित मध्ये भागमा पर्ने ३ नम्बर प्रदेशमा पनि सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ ।
बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटनाबाट एक वर्षमा ४ सय १३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा बागमती प्रदेशका १० जिल्लामा एक हजार ७ सय ९८ वटा सवारी दुर्घटनामा परेर ४ सय १३ जनाको मृत्यु भएको हो । बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) बाहेक बाँकी १० जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा दुर्घटना बढेको पाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ५ सय १२ सवारी साधन दुर्घटनामा परेर ३ सय ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा सडक दुर्घटनाका कारण थप ७८ जनाले ज्यान गुमाउनु परेको छ ।
आम नागरिकको पहुँचमा रहेको मुलुकको एकमात्र सडक यातायात जोखिमयुक्त बनिरहेको छ । प्रहरीको तथ्याङ्क हेर्ने हो भने वर्षेनि तीन हजारभन्दा धेरै जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । बागमती प्रदेशको उपत्यकाबाहिरका १० जिल्लामा सडक दुर्घटना र त्यसबाट हुने जनधनको क्षति बढ्दै गएको छ । सडक दुर्घटना हुने कारणमा सबैभन्दा बढी चालकको लापरबाही र दोस्रोमा सवारी साधनको तीव्र गति पाइने गरेको छ । सडक दुर्घटनाको तेस्रो र चौथो कारणमा मापसे र ओभरटेक रहेको प्रहरीको तथ्यांकले देखाएको छ । यसबाट सडक दुर्घटनाको मुख्य कारण मानवीय त्रुटी रहने गरेको पुष्टि हुन्छ । सडकको अवस्थाअनुकूल सवारी साधन नहुनु र भारवहन क्षमताभन्दा बढी भार बोक्नु पनि दुर्घटनाका कारण मान्न सकिन्छ । गाउँगाउँमा सडक विस्तार भइरहेको र सडक सुरक्षालाई बेवास्ता गर्दा सवारी दुर्घटनाको दर बढेको नकार्न सकिँदैन ।
सडक दुर्घटना बढ्दै जाँदा सडक नै असुरक्षित बन्दै गएको महसुस हुन थालेको छ । दुर्घटना कम गर्न सडक सुरक्षाका उपायहरुको प्रभावकारी कार्यान्वयन आवश्यक छ । धेरैजसो सडक दुर्घटना मानवीय त्रुटीका कारण हुने भएकाले सवारी दुर्घटना कम गर्न यातायातकर्मी नै सचेत हुनुपर्छ । सडक दुर्घटनाबाट सवारी चालक बढी प्रभावित हुने भएकाले उनीहरुको सतर्कताले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने निश्चित छ । सडक दुर्घटनालाई दीर्घकालीनरुपमा न्यूनीकरण गर्न सुरक्षित सडकको अवधारणालाई सार्थक बनाउनु पर्छ । सरकारले सडक सुरक्षाको लागि उपयुक्त नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गराउनुपर्छ । यातायात क्षेत्रमा देखिएका चरम लापरबाहीको अन्त्यबाटै दुर्घटना न्यूनीकरणको सुरुवात गर्नुपर्छ । यसका लागि यातायात व्यवसायी, चालक, यात्रु तथा नियमनकारी निकाय सबैले गम्भीर भएर आफ्नो कर्तव्य पालना गर्नु आवश्यक छ ।