हेटौंडाः हेटौंडामा आज सोमबार एकै स्थानमा ठुलो संख्यामा सवारी दुर्घटना भएको छ । पूर्व पश्चिम सडक खण्ड रातोमाटेमा ५ वटा सवारी एक आपसमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
आज बिहान ९ बजेर ३० मिनेटको समयमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ६२५४ नम्बरको ट्रकले सोही दिशा तर्फबाट नै आउँदै गरेको ना १ क ५१२० स्कुलको बसलाई ठक्कर दिएको थियो । उक्त बस सडकमा साईड लाग्न जादाँ पुनः सोही ट्रकले बिपरित दिशाबाट जाँदै गरेको लु १ ख ४३४७ नम्बरको ट्याङकरलाई ठक्कर दिएको थियो । उक्त ट्याङ्करले पशुपतिनगरबाट रातोमाटेतर्फ जाँदै गरेको बा ७ च ९६०४ नम्बरको कारलाई थिच्न गएको थियो । पुनः उक्त ट्रकले सडकमा रोकी राखेको प्रदेश ०२०३००१ ख २५०६ नम्बरको टेलर ट्रकलाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । सवारी दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएको र उनीहरुको अहिले हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताउनुभयो ।