सम्मान कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले मकवानपुरका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । स्थानीय तह निर्वाचनमा विजयी भएका मकवानपुरका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष महिला जनप्रतिनिधिलाई शनिबार सम्मान गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोन, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, हेटौंडा–११ की अध्यक्ष जुना दाहाल, बकैया–५ की अध्यक्ष लक्ष्मी जिम्बा र बकैया–१० की अध्यक्ष कमला पाख्रिनलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा अध्यक्ष पाख्रिन स्वास्थ्य समस्याका कारण उपस्थित हुन सक्नुभएको थिएन ।
सम्मानसँगै आँचलले महाकाव्यकार मुना अर्यालको आत्म सलिल महाकाव्य केन्द्रित रचना वाचन कार्यक्रम समेत गरेको थियो । आत्म सलिल महाकाव्य माथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गर्नुभएको थियो । प्रेम, प्रकृति र आध्यात्मिक चेतनामा आधारित भएर आत्म सलिल महाकाव्य तयार भएको घिमिरेले बताउनुभयो । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्ष तथा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

हयग्रीव आचार्य, समित्रा सुमी, प्रभाष घिमिरे, उषाकिरण अधिकारी, उषा तिवारी, पुरुषोत्तम आचार्य, स्वस्तिका दाहाल र रिजन कार्कीले आत्म सलिल महाकाव्यका श्लोकहरु वाचन गर्नुभयो । भावना सापकोटाको अध्यक्षतामा आँचलको नयाँ समिति चयन भएपछि पहिलो कार्यक्रमको रुपमा महिला जनप्रतिनिधिलाई सम्मान तथा कृति समीक्षाको कार्यक्रम भएको हो ।