ओसीएमसीको वार्षिक समीक्षामा सहभागीहरु ।

हेटौंडाः अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले आर्थिक वर्ष २०७८÷७९ मा ३ सय ३६ जनालाई सेवा दिएको छ । मंगलबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा ओसीएमसीकी स्टाफ नर्स पुजा ओझाले यौनहिंसा पीडित भई गर्भ रहेका ८ जनाको गर्भपतन समेत गरिएको जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा ९ जनाको गर्भपतन गराउनु परेको जानकारी गराउँदै स्टाफ नर्स ओझाले मानसिकरुपमा समेत विक्षिप्त भएका ३ जनालाई सेवा प्रदान गरेको जानकारी दिनुभयो ।

ओसीएमसीले हिंसा पीडित २ सय ८० जनालाई मनोविमर्श सेवा प्रदान गरेको छ । सबैभन्दा बढी श्रीमान्बाट ८६ जनाले हिंसा व्यहोर्नु परेको विवरण सार्वजनिक गरिएको छ भने घरपरिवारकै सदस्यबाट ६८ जना पीडित भएका छन् । प्रेमी, प्रेमिका र साथीबाट हिंसा पीडित हुनेको संख्या ४७ छ । अघिल्लो दुई आर्थिक वर्षको तुलना हिंसा पीडितको संख्यामा केही कमि आएको छ । आर्थिक वर्ष २०७६/७७ मा ४ सय १० जना हिंसा पीडितलाई ओसीएमसीले सेवा प्रदान गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ३ सय ५८ जनालाई सेवा प्रदान गरेको छ ।

हिंसा पीडितलाई उपचार, परामर्श तथा परिवार र समाजमा पुनर्स्थापनाको कार्य समेत गर्दै आएको ओसीएमसीले ११ परिवारलाई आयआर्जनका लागि विभिन्न सहयोग समेत गरेको ओसीएमसीकी फोकल पर्सन अमृता श्रेष्ठले जानकारी दिनुभयो । उमेर समूहका हिसाबले १५ देखि ४९ वर्षको बीचको समूह बढी पीडित भएका छन् । यो उमेर समूहका १ सय ३१ जना पीडित भएको ओसीएमसीले जनाएको छ । वार्षिक २५ लाख रुपैयाँ बजेट प्राप्त हुने जानकारी गराउनुहुँदै फोकल पर्सन अमृता श्रेष्ठले लैंगिक हिंसाका घटना नहोस् भनी सचेतनामूलक सूचना सम्प्रेषण समेत गर्दै आएको जानकारी दिनुभयो ।

ओसीएमसी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले हिंसापीडितको उपचार, परामर्श तथा परिवार र समाजमा पुनस्र्थापनाको पक्षमा महत्वपूर्ण कार्य भएको पाइएको उल्लेख गर्नुहुँदै स्थानीय सरकारसँग समन्वय गरेर थप प्रभावकारी कार्य गर्नुपर्ने औँल्याउनुभयो । हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले सेवा प्रवाहका दृष्टिले ओसीएमसीमा सेवाग्राही घट्दै जाँदा खुसी हुनुपर्ने बताउनुभयो । ओसीएमसीको समन्वय र व्यवस्थापनको पाटो राम्रो भएकै कारण नमूना कार्य हुँदै आएको डा. सापकोटाले बताउनुभयो ।