विद्यावारिधि उपाधि औपचारिक शिक्षाको उच्चतम् उपाधि हो । औपचारिक शिक्षा हासिल गर्दै जाँदा ज्ञानको दायरा फराकिलो बन्दै जान्छ भने ज्ञानको भोग कहिल्यै भरिन्न । विद्यावारिधि उपाधि विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धी पनि हो । साथै विद्यावारिधि तहको अध्ययन, अनुसन्धानले समाजका लागि उपयोगी एउटा सिद्धान्त पनि प्रतिपादन गर्न मद्दत पुर्याउँछ । यस्तै उच्चतम् शैक्षिक गन्तव्यमा अग्रसर हुँदै गर्नुभएका हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय निमेष निखिल र घनश्याम घिमिरे अहिले विद्यावारिधि तहको अध्ययन अनुसन्धानमा हुनुहुन्छ । विद्यावारिधि तहको अध्ययन, अनुसन्धानकै विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले उपप्राध्यापकद्वय निमेष निखिलघनश्याम घिमिरेसँग गर्नुभएको कुराकानीः

विद्यावारिधिको अध्ययन अनुसन्धान कहिलेबाट शुरु भयो ? अहिले कुन चरणमा पुगेको छ ?

निमेषः २०७६ बैशाख २४ बाट नेपाल संस्कृत विश्वविद्यालयमा “गणतन्त्रपछिको नेपाली गद्य कवितामा बक्रोक्ति” विषयमा मेरो विद्यावारिधि अस्थायी दर्ता प्रक्रियामा गएको हो । अहिले चाहिँ मेरो प्राविधिक मूल्यांकनका लागि थेसिस बुझाइसकेको छु । त्यही प्राविधिक मूल्यांकनपछि अरु प्रक्रिया अघि बढ्नेछ ।

घनश्याम सर, तपाईले चाँहीँ कुुन विषयमा र कुन तहमा अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ ?

घनश्यामः म अहिले नेपाली उपन्यास अन्तर्गतको “यौनपरक नेपाली उपन्यासमा बात्सायन शुत्र” अनुसार के कसरी पहिचान गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छु । म चाहिँ २०७७ को मंसिरबाट औपचारिक रुपमा यो अनुसन्धान कार्यमा संलग्न छु । र अहिले विश्वविद्यालयबाट लिनुपर्ने सिद्धान्तको परीक्षाहरु सकेर सामग्रीहरु संकलन गर्ने र लेख्ने क्रममा छु ।

विद्यावारिधि तहको अध्ययन र अनुसन्धान कस्तो किसिमले अध्ययन गर्नुपर्ने रहेछ ?

घनश्यामः यो अध्ययन र अनुसन्धानात्मक पढाइको क्रम भनेको एक विशिष्ट प्रक्रिया हो । विश्वको अन्य मुलुकहरुको तुलनामा नेपालमा विश्वविद्यालय पछि खुलेको हुनाले हामी अध्ययन, अनुसन्धान र औपचारिक शिक्षाको दृष्टिकोणले स्वभाविक रुपमा पछि छौं । पछिल्लो समयमा भने नेपालमा विश्वविद्यालयको संख्यामा भएको वृद्धि र विदेशका विश्वविद्यालयमा पनि पढ्ने पहूँच वृद्धि भएकाले यसमा अलि सुधार भएको देखिन्छ । विद्यावारिधि तहको अध्ययन भनेको औपचारिक रुपमा स्नातकोत्तरपछि एमफिल गरिसकेपछि विद्यावारिधि लिन सकिन्छ ।

तपाईले विद्यावारिधि तहको अध्ययन शुरुवात गर्नुभन्दा अगाडि अपेक्षा, बुझाइ र अहिले अध्ययन गरिरहँदा के–के फरक पाउनुभयो ?

निमेषः हामी शिक्षण पेसामा नै लागेको कारण अध्ययन, अनुसन्धान गर्नु हाम्रो नियमित काम होे । तर हिजोसम्म हामीले अव्यवस्थित ढङ्गले व्यक्तिगत र मनोगत रुपमा अध्ययन गरिरहेका थियौं भने अहिले हामी त्यो अव्यवस्थित अध्ययनलाई नै व्यवस्थित, वैज्ञानिक र वस्तुनिष्ट बनाउँँदै छौं ।

तपाईले आफ्नो नियमित कार्य र यो अध्ययनको समयलाई कसरी संयोजन गरेर अघि बढ्दै हुनुहुन्छ ?

निमेषः खासमा मैले कोभिड–१९ को कारणले भएको लकडाउनको भरपुर उपयोग गरेँ । तर यो अनुसन्धानको प्रक्रियामा प्रवेश गरिसकेपछि पहिला सिर्जनात्मक लेखनमा दिएको समयमा कटौती हुँदै गयो । अनि पहिले रुचिका पुस्तकहरु पढ्थेँ भने अहिले विषयवस्तुमा नै केन्द्रित छु ।

औपचारिक रुपमा विद्यावारिधि तहसम्म अध्ययन गरिरहँदा र पहिले अध्यापन गराइरहँदा के कस्तो फरक पाउनुभयो ?

घनश्यामः अध्यापन कै पेसामा संलग्न हुँदापनि लगभग समालोचना र विवेचना गर्न सिक्ने सिकाउने नै हो । तर हामीले एउटा सिस्टम बसाल्न सकेका थिएनौं । अहिले हामीले अध्ययन गर्दा एउटा सिस्टममा बसेर काम गर्छाै ।

तपाईहरुले विद्यावारिधि तहको अध्ययनपछि यो समुदायलाई कस्तो योगदान दिन सक्नुहुनेछ ?

निमेषः अध्ययन भन्दा माथिल्लो चरण अनुसन्धान हो । समाज विकासित भएसँगै बहुआयामिक आवश्यकता पर्दै जान्छ । त्यसक्रममा समाजको यस्तो आवश्यकता पूरा गर्न अनुसन्धानात्मक अध्ययनको ठूलो भूमिका रहन्छ । विभिन्न विकासका आयामहरुलाई कसरी अगाडि बढाउने, मौलिक समाजको विशेषताहरु पहिचान गर्ने, समाजका बहुआयामिक विकासका सन्दर्भलाई कसरी समेट्ने भन्ने कुराहरु अनुसन्धानबाट प्राप्त भएको निश्कर्षलाई आधार मानी नीतिगत रुपमा लागु गर्न सकिन्छ । यस अर्थमा अनुसन्धान केवल डिग्री र सर्टिफिकेट पाउन मात्र नभएर समाजको बहुआयामिक विकासका लागि र राज्यलाई नीति निर्माणको निम्ति पनि यसको महत्व रहेको छ ।

विद्यावारिधि अध्ययनका लागि अब आउने नयाँ पुस्ताहरुलाई कस्तो सुझाव दिन चाहानुहुन्छ ?

घनश्यामः मेरो अनुभवको आधारमा उहाँहरुलाई अध्ययनको क्रमलाई नछुटाउन सल्लाह दिन चाहान्छु । नियमित अध्ययनको क्रममा जो विषयगत विशेषज्ञता हासिल गर्न चाहानुहुन्छ उहाँले पढाईलाई निरन्तरता दिनुस् । किनकी मास्टर्स तहमा पढेका धेरै कुराहरुले हामीलाई कुनै कुनै रुपले अध्यययन अनुसन्धानमा सहयोग पुर्याउँदछ । शुरुमा विद्यालय तहमा अनुसन्धानमूलक वातावरण सिर्जना हुन जरुरी देखिन्छ र राज्यले अनुसन्धानमा लागेका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्नुपर्छ । आफ्नो रुचि र अध्ययनको विषयमा प्राप्त सामग्रीहरु पढ्न थाल्नुस् । आर्टिकलहरु लेख्न थाल्नुस् । विद्यावारिधी गर्ने विश्वविद्यालय छान्नुस् । विश्वविद्यालय छान्दा कुन स्तरको विश्वविद्यालय हो त्यो पनि हेर्नुस् । जसले अनुसन्धानको प्रवृत्तिलाई, अध्ययनको अभ्यासलाई बढाउँदै लैजान्छ ।