हेटौंडाः आम विद्यार्थीको गुनासो हुन्छ, “विश्वविद्यालय तहको अध्ययन पूरा गरिसक्दा पनि न रोजगारीको अवसर पाइन्छ न स्वरोजगार बन्न सकिन्छ ।” आम विद्यार्थीको गुनासो रहन्छ आखिर पढेर के भयो ? पढेर के हुन्छ ? यस्तै प्रश्न नआओस्, विद्यार्थीले रोजगारीको अवसर पाउने वा स्वरोजगार हुने बाटो देखाउने उद्देश्यसहित हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले क्याम्पसमै व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्ने भएको छ ।
विश्वविद्यालय तहको अध्ययन गर्दै गरेका विद्यार्थीको व्यक्तित्व विकासका साथै व्यावसायिक सीप, दक्षता र कौशल अभिवृद्धि गर्ने गरी हेटौंडा स्कूल अफ म्यानेजमेन्टले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्दैछ । भोलि आइतबार व्यवसाय प्रवर्द्धन केन्द्रको उद्घाटन हुँदैछ । शुक्रबार क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना, सञ्चालन र उद्देश्यका बारेमा जानकारी गराएको छ ।
व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना तथा व्यवस्थापनमा संलग्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थासँगको सहकार्यमा म्यानेजमेन्टले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्न लागेको जनाइएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास विभागका निर्देशक दिपेश जोशीले विश्वविद्यालय तह अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई उद्यमशील बनाउन व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई उद्यमशील र व्यावसायिक बनाउन यस्ता केन्द्र स्थापना गर्ने परिपाटी विश्व समुदायमा व्यापक भइसक्दा पनि नेपाली समाजमा यसको अभ्यास भर्खरै हुन थालेको उल्लेख गर्नुहुँदै निर्देशक जोशीले अहिले शैक्षिक संस्थामा सीमित व्यवसाय प्रवर्द्धन केन्द्रलाई समुदायस्तरमा पनि विस्तार गरिने बताउनुभयो ।
उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ जस्ता उद्यमी, व्यवसायीको साझा संस्थासँग पनि साझेदारी गरेर समयसापेक्ष दक्ष जनशक्ति उत्पादन गर्न जोड दिइने उहाँले बताउनुभयो । म्यानेजमेन्टमा अध्ययनरत स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थीकै रुचि, चासो र इच्छाको क्षेत्रमा उद्यम तथा व्यवसाय गर्न प्रेरित गर्ने गरी उनीहरुको अवधारणा बुझ्ने, व्यावसायिक योजना बनाउने, कार्यान्वयन गर्ने र सफल उद्यमी, व्यवसायीको रुपमा विद्यार्थीलाई स्थापित गर्न व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिन लागेको निर्देशक जोशीले दावी गर्नुभयो ।
म्यानेजमेन्टले स्थापना गर्ने व्यवसाय प्रवर्द्धन केन्द्रको सञ्चालन तथा व्यवस्थापनका लागि अन्तरप्रेरणा नामक संस्थाले सहयोग गर्नेछ । यस्तै अन्तरप्रेरणाकै समन्वयमा नेदरल्याण्डबाट एकजना विज्ञ पनि हेटौंडा आइपुगेका छन् । अन्तरप्रेरणाका असिम श्रेष्ठले म्यानेजमेन्टमा व्यवसाय प्रवर्द्धन केन्द्रको पूर्ण संरचना स्थापित गर्न सहयोग गर्ने बताउनुभयो । नेदरल्याण्डबाट आएका हङ्कले आर्थिक विकासका लागि अनुसन्धान र आविष्कार जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायमा हरेक विश्वविद्यालयमा एउटा व्यवसाय प्रवर्द्धन केन्द्र रहने गरेको जानकारी दिनुभयो ।