नेपालमा सडक दुर्घटना डरलाग्दो गरी बढिरहेको छ । पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ, मदनभण्डारी लोकमार्गलगायत राष्ट्रिय राजमार्गले जोडेको मकवानपुर जिल्लामा पनि सडक दुर्घटना बढ्दै गएको छ । हेटौंडा–काठमाडौं साना गाडीहरु आवतजावत गर्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडकले पनि दुर्घटनाको जोखिम बढाएकै छ । दिनहुँ साना ठूला सवारी दुर्घटनाको समाचार बनिरहेकै छन् । एउटा दुर्घटना सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को दुर्घटना भइरहेको हुन्छ । यसले सडक तथा सवारी साधन सुरक्षित हुन नसकेको आभाष भइरहेको छ । बढ्दो दुर्घटनाका कारण सडकमा यात्रा गर्न पनि डर मान्नुपर्ने अवस्था आइरहेको छ ।

मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा परी ७० जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा ६३ पुरुष, ४ महिला, एक बालक र एक बालिकाको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष साउनमा २५ सवारी साधन दुर्घटना भएकोमा चार जनाको मृत्यु भएको थियो । भदौमा १५ सवारी साधन दुर्घटनामा दुई जनाको, असोजमा ३० सवारी साधन दुर्घटनामा ५ जनाको र कार्तिकमा ३० सवारी साधन दुर्घटना भएकोमा ११ जनाको मृत्यु भएको तथ्याङ्क छ । मंसिरमा १९ सवारी साधन दुर्घटना हुँदा ३ जना, पुसमा २२ सवारी साधन दुर्घटना हुँदा ४ जना, माघमा २८ सवारी साधन दुर्घटनामा ७ जना र फागुनमा ४१ सवारी साधन दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । चैत महिनामा २२ सवारी साधन दुर्घटना भएकोमा ६ जना, बैशाखमा २५ सवारी साधन दुर्घटना हुँदा ६ जना, जेठमा ३४ वटा सवारी साधन दुर्घटना हुँदा १३ जना र असारमा २६ वटा सवारी साधन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

देशभर वार्षिक सरदर २५ हजारको हाराहारीमा सडक दुर्घटना भइरहेको छ भने त्यसबाट सरदर २ हजार ५ सय मानिसको ज्यान गइरहेको छ । प्रहरी मुख्यालयको विवरणअनुसार २०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २ सय ७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३ सय ५८ पुगेको छ । यस्ता दुर्घटनामा परी १ लाख ३५ हजार १ सय ७५ जना मानिस घाइते भएका छन् । यसमा ३८ हजार ७ सय ४६ गम्भीर घाइते भए भने ९६ हजार ४ सय २९ जना मानिस साधारण घाइते बनेका थिए ।

आम नागरिकको पहुँचमा रहेको सडक यातायातमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक दुर्घटना बढ्दै जानु भनेको सडक असुरक्षित हुँदै जानु हो । अधिकांश सडक दुर्घटनामा मानवीय त्रुटी मुख्य कारण बन्ने गरेको छ । सडकको अवस्थाअनुकूल सवारी साधन नहुनु, भारवहन क्षमताभन्दा बढी भार बोक्नु तथा चालकको लापरबाही सडक दुर्घटनाको मुख्य कारण बनिरहेको छ । नेपालमा बनेका धेरै सडकहरु प्राविधिकरुपमा उपयुक्त छैनन् । सडक सुरक्षाको दीर्घकालीन समाधानका लागि सुरक्षित सडक बनाउनैपर्छ । बारम्बार एकै प्रकृतिका दुर्घटना हुनुलाई चालकको लापरबाही मान्न सकिन्छ । बढ्दो दुर्घटनाको जोखिम कम गर्न यातायात सबै पक्ष जिम्मेवार र सचेत हुनु आवश्यक छ ।