सहयोगको अपिल गर्दै ।

हेटौंडाः हेटौंडा–१३ का जगतबहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराउन सरोकारवाला निकायमा सहयोगको अपिल गर्नुभएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ र जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलाई कार्यकक्षमा भेटी सहयोगको अपिल गर्नुभएको हो ।

सुनारको बाबुको नाममा रहेको जग्गा २०५४ साल बैशाख १९ गते हेटौंडा–३ बस्ने नियमराज शाक्यबाट ५० हजार रुपैयाँ ऋण सापटी लिई दृष्टिबन्धक रोक्का राख्ने सहमति भएकोमा शाक्यले झुक्याएर जग्गा राजीनामा गरेको सुनारले जानकारी दिनुभयो । आफ्नो अनपढ बाबुलाई झुक्याएर मालपोत कार्यालयमा राजीनामाको लिखत गराइएको सुनारको दावी छ । ऋण चुक्ता गरेपछि जग्गा फुकुवा गर्नेछु भनि आफ्नो बाबुलाई विश्वासमा पारी दृष्टिबन्धक गर्ने भनेको उक्त जग्गा राजीनामा लिखत गरी राखेको पाइएको पीडित सुनारले बताउनुभयो ।

पिता पदमलाल सुनारको २०६३ सालमा मृत्यु हुँदाको समयसम्म ऋण रकम चुक्ता गरी रोक्का फुकुवा गर्न पटकपटक प्रयास गरी आएकोमा शाक्यले आलटाल गरेको उहाँको भनाई छ । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको विषयमा विवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिएको सुनारको दावी छ । शाक्यलाई पटकपटक भेटगरी धितोस्वरुपको जग्गा आफूलाई नामसारी गरिदिन र ऋणा रकम बाँकी भए चुक्ता गर्नेछु भनि अनुरोध गर्दै आएता पनि शाक्यले आजभोलि भनि समय व्यतित गर्दै आएको सुनारको भनाई छ ।

संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने र सम्पत्तिको आर्जन, भोग र संरक्षण गर्न पाउने हकबाट वञ्चित हुनुपर्ने अवस्था आएको सुनारको भनाई छ । विभिन्न व्यक्तिहरु पठाई जग्गा खाली गर्न तथा जोतकमोद नगर्न धाकधम्की दिने र जिउज्यानसमेत लिनसक्ने अवस्था बनाई आफू र आफ्नो परिवारलाई मानसिक यातना दिँदै आएको उहाँले बताउनुभयो । सुनारले आफ्नो परिवारको शान्ति सुरक्षाको उचित प्रबन्ध गराइदिन र उक्त पैतृक हकभोगको सम्पत्ति फिर्ता दिलाई पाउन आवश्यक कार्य गरी दिनका लागि सरोकारवाला निकायहरुमा अपिल गर्नुभएको छ ।